काठमाडौँ, जेठ ११ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ।
शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको आगमनसँगै देशमा विकासको नयाँ लहर सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो, त्यसले भौतिक, पूर्वाधार, सामाजिक क्षेत्र, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय प्रगति ल्यायो।’’
महामन्त्री थापाले प्रजातन्त्रले मानव विकासमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै विकासप्रतिको जनआकांक्षा जगाउन सफल भएको पनि बताउनुभयो।
उहाँले विगतमा हातमुख जोड्न पनि गाह्रो भएका परिवार अहिले एक तह माथि उठेको भन्दै भन्नुभयो, “नेपाल ती थोरै देशहरूमध्ये पर्दछ, जसले गएको २०—२५ वर्षमा चमत्कारिक ढंगले आफ्नो देशको गरिबी घटाएको छ।”
थापाका अनुसार आज ती परिवारका सदस्यहरूले १०, ११, १२ कक्षा अध्ययन गरिरहेका छन् र आम्दानी बढाउन खोजिरहेका छन्, जुन सकारात्मक परिवर्तनको संकेत हो।
तर उहाँले अर्थतन्त्र भने अझै अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गर्नुभयो। अर्थतन्त्र ठीक ढंगबाट अघि बढ्न सकेको छैन, उहाँको भनाइ छ ।