काठमाडौँ, जेठ ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को उद्घाटन गर्नुभएको छ ।
काठमाडौँमा शुक्रबार बीआईटीएम २०२५ को उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । “बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,” मन्त्री पाण्डेले भन्नुभयो ।
त्यसैगरी, मन्त्री पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ती सहर’का रुपमा विकास गर्ने समेत बताउनुभएको छ । उहाँले भन्नुभयो, “बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ती सहरको रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ । त्यसैगरी लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ ।’’
मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताउनुभएको छ ।
मन्त्री पाण्डेले थप्नुभयो, “युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरेका छौं । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको छ ।’’
मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गर्नुभएको छ ।