• ४ साउन २०८१, शुक्रबार

बन्द नहरलाई युवाले मर्मत गरी सुचारु गरे

blog

सिराज खान  

नेपालगञ्ज, जेठ २८ गते । राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा लामो समयदेखि बन्द अवस्थामा रहेको सिचाइँ नहर मर्मत गरी पानी सञ्चालनमा ल्याइएको छ । नहर बन्द हुँदा किसानलाई समस्या भएपछि नेपाली कांग्रेसमा आवद्ध युवाले श्रमदान गरेर आफ्नै खर्चमा नहरको मर्मत सम्भार गरी नहरमा पानी सञ्चालन गरेका हुन् ।

 स्थानीय कांग्रेस नेता मदन बुढाका अनुसार दुई दिनसम्म गाउँका युवाले आफ्नै साधन तथा स्रोत परिचालन गरेर नहरको इन्टेकमा बाँध उठाएर गाउँमा पानी ल्याएका हुन् । नहर मर्मतका लागि एउटा एक्साभेटर, एउटा जेसिबी र ५ वटा टिपर प्रयोग गरिएको बुढाले बताउनुभयो । त्यसमध्ये एउटा एक्साभेटरको ब्यवस्थापन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गरिदिनुभएको थियो । बाँकी सबै साधन स्रोतको व्यवस्था युवा आफैले मिलाएका थिए । 

समयमा वर्षा नहुँदा सो क्षेत्रका अधिकांश किसानले धानको ब्याड राख्न पाएका छैनन् । सिँचाइका लागि बर्षौ पुरानो नहर भए पनि इन्टेकमा पक्की बाँध नहुँदा पानी बन्द भएको थियो । 

नहर मर्मत गरिएपछि गाउँमा अहिले पानी पुग्दा राप्तीसोनारी ६ र ७ का किसानलाई  राहत मिलेको स्थानीय बासिन्दा रमेश थापाले बताउनुभयो । ‘नहरको इन्टेकमा बाँध बनाउने काममा युवासँगै हामीले पनि श्रमदान गर्यौं, यसले पानी सञ्चालन गर्न सम्भव भयो’ थापाले भन्नुभयो । 

नहरमा पानी सञ्चालन गर्न श्रमदानका लागि वडा ६ मा रहेका अधिकांश कांग्रेस कार्यकर्ता परिचालित भएको उहाँले बताउनुभयो । ‘नहरमा पानी सञ्चालन गरिदिन अनुरोध गर्दा कसैले पनि वास्ता नगरेपछि हामी आफै कस्सिएका हौं,’ उहाँले भन्नुभयोे ।

बिगत ६ महिना बढी समयदेखि जनप्रतिनिधि र जल उपभोक्ता समितिको उदासिनताले आजित भएका किसानलाई कांग्रेसका युवाको सहयोगले राहत मिलेको छ । काँग्रेस बाँकेले राप्तीसोनारी ६ का युवा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै त्यसबाट सबै युवाले सिक्नुपर्ने बताएको छ । 

कांग्रेस बाँकेका सभापति नारायण गौडेलले नेता कार्यकर्ताका यस्ता कामले देश विकाससँगै पार्टीप्रति पनि जनताको समर्थन र माया बढ्दै जाने बताउनुभयो ।