• ९ जेठ २०८२, शुक्रबार

‘नूर–गङ्गा प्रतिभा पुरस्कार’ प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ ९ गते । ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ ले २०८० सालको नूर–गङ्गा प्रतिभा पुरस्कार पाँच प्रतिभालाई प्रदान गरेको छ । बालसाहित्य र लोकगीत गायनका क्षेत्रमा योगदान गर्ने पाँच प्रतिभालाई बिहीबार एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यकार चुडामणि बन्धु, ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ का संरक्षक अमिरप्रताप जबरा तथा गुठीका अध्यक्ष प्राडा गोविन्द नेपालले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।  नेपाली बालसाहित्यका क्षेत्रमा योगदान पु¥याउनुहुने रामबाबु सुवेदी (कास्की) र रामकुमार पाँडे (ललितपुर) लाई संयुक्त रूपमा ‘नूर–गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

त्यस्तै ‘नूर–गङ्गा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार’ ३० हजार रुपियाँसहित रूपन्देहीका डिल्लीनारायण पाण्डेलाई, ‘नूर–गङ्गा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार’ नगद राशि २५ हजारसहित म्याग्दीका प्रकाश दुतराजलाई र ‘नूर–गङ्गा नवप्रतिभा क्षेत्रीय साहित्य पुरस्कार’ नगद राशि २० हजारसहित रूपन्देहीका सागर पौडेललाई प्रदान गरियो । कार्यक्रममा प्राडा गोविन्द नेपाल र भागीरथी श्रेष्ठलाई सम्मान गरिएको थियो । प्राडा चुडामणि बन्धुले बालसाहित्य लेखनमा जोड दिँदै बालबालिकाका लागि लेख्नु जरुरी रहेको बताउनुभयो । बालबालिका देशका भविष्य रहेको बताउँदै उहाँले बालबालिकालाई कस्तो बनाउने भन्ने सन्दर्भमा बालसाहित्य लेखिनु पर्छ भन्ने कुरामा जोड दिनुभयो । उहाँले गुठीले लोकगायन र बालसाहित्यमा योगदान गर्नेका लागि सम्मान गरेर स्तुतीय काम गरेको बताउनुभयो । 

‘नूर–गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार’ बाट पुरस्कृत दुवै जनाले बालसाहित्यको महत्वमाथि प्रकाश पार्दै बालसाहित्यले बालबालिकामा पार्ने भूमिकाको चर्चा गर्नुभयो । गुठीका अध्यक्ष प्राडा गोविन्द नेपालले गुठी आफ्नो ३४ वर्षको इतिहासमा बिनाविवाद निरन्तर अगाडि बढ्दै आएको बताउनुभयो । सबैको साथ सहयोगले नै गुठी आजसम्म अघि बढिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा ‘नूर–गङ्गा राष्ट्रिय नवप्रतिभा लोकगायनका पुरस्कृत प्रकाश दुतराजले मिठो प्रस्तुति सुनाउनुभएको थियो । कार्यक्रममा गुठीका सल्लाहकार रामबाबु नेपाल, जानुकादेवी राणा, विदुषी राणालगायतको उपस्थिति रहेको थियो ।