• ८ जेठ २०८२, बिहिबार

श्री कुमारीमाथि आरसिटीको सानदार जित

blog

बल खोस्ने प्रयास गर्दै आरसिटी र श्री कुमारीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, जेठ ८ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबमाथि सानदार जित निकालेको छ । 

एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारीलाई ४–१ गोलले हरायो । एक पक्षीय खेलमा आरसिटीलाई जिताउन विवेक राई र अजीत गुरुङले दुई गोल गर्नुभयो । श्री कुमारीका लागि राजकुमार स्याङ्ताङले सान्त्वना गोल फर्काउनुभयो । 

लिगको अन्तिम जितसँगै आरसिटीले १३ खेलबाट १८ अङ्क बनाएको छ । यससँगै आरसिटीले ‘बी’ डिभिजनको हैसियत जोगाएको छ । यस्तै समान खेलबाट १६ अङ्क बटुलेको श्री कुमारीले पनि बी’ डिभिजनमा आफुलाई कायम राख्न सफल भएको छ ।

लिगमा सहभागी १४ क्लबमध्ये प्लानिङ ब्वाइज युनाइटेड च्याम्पियन र श्री भगवती क्लब उपविजेता बन्दै शीर्ष डिभिजनका उक्लिएको छ । श्री टुसाल युवा क्लब र नयाँबस्ती युवा क्लब ‘सी’ डिभिजनमा घटुवा भएको छ । लिगको अन्तिम खेलसँगै समापन शुक्रबार हुने छ । 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।