• ९ जेठ २०८२, शुक्रबार

सर्पले टोक्नसाथ सर्पदंश केन्द्र लैजान चिकित्सकको सुझाव

blog

नेपाल चिकित्सक सङ्घले आयोजनामा सहभागीहरू ।

काठमाडौँ, जेठ ८ गते । नेपालमा वार्षिक तीन हजारभन्दा बढीको मृत्यु सर्पको टोकाइबाट हुने एक अध्ययनले देखाएको छ । बिहीबार नेपाल चिकित्सक सङ्घले आयोजनामा सम्पन्न नेपालमा सर्पदंशको रोकथामसम्बन्धी अन्तर्क्रिया कार्यक्रमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सञ्जिवकुमार शर्माले नेपालमा वार्षिक रूपमा ३७ देखि ४९ हजार सर्पदंशका बिरामी पत्ता लाग्नुका साथै तीन हजारको मृत्यु हुने जानकारी दिनुभयो ।

सर्पदंशका ४६ प्रतिशत बिरामी चारदेखि १४ वर्ष उमेर समूहका बालबालिका हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा कोब्रा र करेत गरी दुई प्रजातिका सर्पहरूले टोक्ने गर्छन् । धेरै जस्ता सर्पदंशका बिरामीको मृत्यु अस्पताल लैजानुभन्दा अगाडि हुने उहाँको भनाइ छ । उहाँले ८० प्रतिशत बिरामीको मृत्यु अस्पताल पुग्नुभन्दा अगाडि हुने बताउनुभयो । 

गाउँघरमा धामी, झार्की तथा जडीबुटीको प्रयोग, गोबर लगाउने, ढुङ्गाले घोट्ने लगायतका घरेलु उपाय अपनाउँदा अस्पतालमा पुग्न ढिलाई भएर धेरै सर्पदंशका बिरामीको अस्पतालमा पुग्नुभन्दा अगाडि मृत्यु हुने उहाँको भनाइ छ । 

त्यो बाहेक करेत सर्पले प्राय राति सुतिरहेको बेलामा टोकेर बिरामी थाहा नपाएर बिरामीकोको अकाल्मै मृत्यु हुने गरेको उहाँको भनाइ छ । त्यसैगरी, कोब्राले दिउँसोको समयमा टोक्ने गर्छ । करेत र कोब्राले टोकेको एक घण्टा भित्र उपचार सुरु गर्दा उपचार प्रभावकारी हुने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सर्पले टोकेपछि ढिला नगरी नजिकैको सर्पदंश केन्द्रमा लैजान सकेमा सर्पदंशबाट हुने मृत्युदर कम गर्न सकिन्छ । यसको प्रथमिक उपचार नै छिटोभन्दा छिटो अस्पताल पुर्‍याउनु हो ।”

रोटरी क्लब अफ काठमाडौँका डा.निर्मल रिजालले सर्पले टोकेको व्यक्तिलाई केही पनि नखुवाउन आग्रह गर्नुभयो । त्यो बाहेक टम्म कसिएको कपडा, गरगहना, औँठी फुकालेर खुकुलो पारदिन रोटरी क्लब अफ काठमाडौँका निर्मल रिजालले आग्रह गर्नुभयो । सर्पले टोकेको भागलाई चलाउन नहुने उहाँको भनाइ छ ।  

सर्पको टोकाइबाट बच्न सकेसम्म भुईमा नसुत्ने, सुत्नै परेमा झुलको प्रयोग गरेर सुत्ने, घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जङ्गल, झाडीमा जाँदा सर्प भए नभएको लौरो टकटक्याएर जाँच गरेर मात्र जाने, रातिको समयमा टर्च लाइट बालेर जान रिजालको आग्रह छ । 

हरेक वर्ष जेठदेखि भदौसम्ममा सर्पहरू खाना खोज्न बाहिर निस्कने हुँदा यो समयमा सर्पदंशका बिरामी बढ्ने गर्छन् ।

सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले “एन्टी स्नेक भेनस सेरम” मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ । सरकारले देशभर १२६वटा सर्पदंश केन्द्र स्थापना गरेको छ ।