नौरते नेपाली
सिँजा (जुम्ला), जेठ ६ गते । जुम्लाको तातोपानी गाउँपालिकाले विषादी प्रयोग गर्ने किसानलाई अनुदान रोक्ने भएको छ । धानबालीमा प्रयोग हुने विषादी (व्युटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै गरेको उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
धानबालीमा प्रयोग हुने विषादी रोक्नका लागि गाउँबस्तीदेखि वडा र पालिका स्तरसम्म सचेतीकरणका कार्यक्रम थालेका छौँ । सचेतीकरणसँगै कृषि प्राविधिक, जनप्रतिनिधि, नागरिक समाजलगायतको संयुक्त अनुगमन टोलीसमेत खटाइने छ ।
सचेत गर्दागर्दै विषादीको प्रयोग गर्ने किसानलाई सूचिकृत गरी गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधासहित अनुदानसमेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । झारनासक विषादीले (व्युटाकुलर)ले जलचरदेखि मानिस र पशुपक्षीलाई समेत असर गर्ने भएकाले किसानले यसको प्रयोग गर्न छोडेका छैनन् । कसैले लुकिछिपी विषादीको प्रयोग गरेमा किसानले पाउने अनुदान र अन्य सेवा सुविधा गाउँपालिकाले रोक्ने उहाँको भनाइ छ ।
जुम्लामा जेठ महिनाको पहिलो सातादेखि धान रोपाइँ सिजन सुरु भएको छ । जुम्लाका धेरै जसो किसानले धान रोप्ने गर्दछन् । धान यहाँको प्रमुख अन्नबाली पनि हो । १४ औँ जिल्ला परिषद्ले जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरे पनि किसानले धान खेतमा झारनासक विषादी (व्युटाकुलर) प्रयोग गर्ने गरेको पाइन्छ ।