• ८ जेठ २०८२, बिहिबार

दुई सातादेखि पुल बन्द मर्मतमा बेवास्ता

blog

मर्मतका लागि फूलजोर खोलाको पुलमा दुुई सातादेखि थुपारेर राखिएको ढुङ्गा । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, जेठ ६ गते  । सर्लाहीको जब्दीस्थित फूलजोर खोलाको पुलबाट आवतजावत बन्द भएको दुई साता भइसक्दा पनि मर्मतको काम अगाडि बढ्न सकेको छैन । 

लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरको सीमामा पर्ने फूलजोर पुलको दक्षिणतर्फ पुलमा जोडिने सडक (एपरोच रोड) मा ठुलो भ्वाङ पर्दा वैशाख २४ गतेदेखि पुलबाट आवतजावत बन्द गरिएको थियो । पुल बन्द भएदेखि सवारीसाधन खोलाबाट सञ्चालन भइरहेका छन् । 

निर्माण व्यवसायीले पुलमा ल्याएर ढुुङ्गा थुपारेको दुुई साता भइसक्दा पनि मर्मतको काम अगाडि नबढ्दा खोलाबाट साइकल, मोटरसाइकल, टेम्पु जस्ता साना सवारी वारपार गर्नै मुस्किल परिरहेको स्थानीयले गुनासो गरेका छन् । पुल बन्द भएदेखि किसानले तरकारी बोकेर ल्याउने र व्यापारीले सामग्री लोड गरेर हाँकेको मोटरसाइकल खोलाको बालुवामा चिप्लिएर बारम्बार पल्टने र भास्सिने गरेका छन् । 

ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले खोलाबाट सवारीसाधन वारपार गर्न असाध्य समस्या परिरहेको बताउनुुभयो । निर्माण व्यवसायीलाई मर्मतको काम तत्काल अगाडि बढाउन दिनहुँ सम्पर्क गरे पनि आलटाल गर्दै आइरहेका वडाध्यक्ष थापाको गुनासो छ । 

वडाध्यक्ष थापाका अनुसार निर्माण व्यवसायीले शुव्रmबारदेखि काम सुरु गर्ने बताउँदै आएकोमा अहिलेसम्म काम सुरु  भएको छैन । 

वडाध्यक्ष थापाले भन्नुुभयो, “पुल मर्मतको कामका लागि हिजोआज भन्दाभन्दै ठेकेदारले दस दिन बिताइसकेका छन् तर काम सुरु नै भएको छैन । ठेकेदारको बेइमानीका कारण जनप्रतिनिधिले असाध्य तनाव खेप्नु परिरहेको छ ।” 

खोलामा बाढी आए डाइभर्सनसमेत बन्द हुने अवस्था रहेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका–३, जब्दीका अजयकुमार चौधरीले पुल बनेपछि खुसी भएको आफूहरू पुललाई जोड्ने सडकमा भने बारम्बार भ्वाङ परेर यसरी आउजाउ बन्द भइरहँदा असाध्य दुःख पाइरहेको गुनासो गर्नुभयो ।