• ५ जेठ २०८२, सोमबार

बेपत्ता बालकको नदी किनारमा शव भेटियो

blog

राजु लामिछाने

रुकुमपश्चिम, जेठ ५ गते । रुकुमपश्चिममा एक बालकको शव फेला परेको छ । जिल्लाको आठ बिसकोट नगरपालिका ११ फारुला निवासी नरेश विकको छोरा १० वर्षीय यज्ञ विकको शव सोमबार दिउँसो फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार आठ बिसकोट नगरपालिका १४ छोटेतरास्थित भेरी नदी किनारमा यज्ञको शव फेला परेको हो । गत शुक्रबार भारत जाने क्रममा घरबाट हिडेका नरेश, उहाँको श्रीमती र छोरा यज्ञ वडा नम्बर १४ स्थित दिदीभिनाजुको घरमा बसेको बेला बालक हराएका थिए । 

बुवा र आमाको साथमा घरबाट हिडेका यज्ञ हराएपछि खोज्ने क्रममा भेरी नदी किनारमा चप्पल फेला परेको भन्दै वडा नम्बर १४ का वडाध्यक्ष हुकुम बहादुर पुनले प्रहरीलाई खबर गर्नुभएको थियो । 

खोज तलास गर्ने क्रममा तीन दिनपछि आज बालकको शव फेला परेको हो । स्थानीयले नदी किनारमा बालकको शव फेला परेको खबर गरेपश्चात इलाका प्रहरी कार्यालय आठ बिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा एक प्रहरी टोली घटनास्थल गएको बताइएको छ ।