• ५ जेठ २०८२, सोमबार

सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित हुन्छः मन्त्री यादव

blog

खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिंहदरबार परिसरमा आयोजित समारोहमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ५ गते । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी सिंहदरबारमा औपचारिक वितरण सुरु गर्नुभएको छ । सोमबार सिंहदरबार परिसरमा आयोजित एक समारोहबिच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गर्नुभएको हो ।

उहाँले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिनुभयो । मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरुमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गर्ने बताउनुभयो । खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उहाँको भनाइ थियो ।

‘‘हामीले भनेका थियौं मेलम्चीको पानी सिंहदरबारमा ल्याउने । त्यो पानी सबै मन्त्रालयमा पुर्‍याउने साथै सिंहदरबारभित्र जार र मिनरल वाटरका बोतलहरू चलिरहेको छ त्यसलाई बन्द गर्ने । त्यसैका लागि हामीले मेलम्चीको पानी सिंहदरबारमा सुरुवात गरेका छौं । हामीले प्रधानमन्त्री कार्यालय अगाडि नै खानयोग्य पानी चलाएका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘अब यो पानी सबै मन्त्रालयमा जान्छ । जुन जार र मिनरल वाटरका बोतल प्रयोग भइरहेका थिए अब त्यसको अन्त्य गर्छौं । साथै अन्य मन्त्रीहरूले पनि यसको नेतृत्व लिनुपर्छ । यसको सुरुवात भइसक्यो । अब यसको पाइपलाइन सबै मन्त्रालयमा जान्छ । आजबाट विधिवत रूपमा मेलम्चीको पानी आयो । यसभन्दा अघि भूमिगत पानी सिंहदरबारमा आएको थियो, मेलम्चीको पानी आएको थिएन ।’’ उहाँले सुशासन, पारदर्शीता र जनताको सेवा गर्नेतर्फको प्रतिबद्धताको उदाहरण भएको बताउनुभयो ।