• ३१ जेठ २०८२, शनिबार

बहुभाषिक शिक्षाले मातृभाषाको संरक्षण हुन्छ : अध्यक्ष ठाकुर

blog

अन्तर्क्रियामा आफ्नो भनाइ राख्नुहुँदै अध्यक्ष ठाकुर । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), जेठ ५ गते । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले बहुभाषिक शिक्षाले मात्रै मातृभाषाको संरक्षण हुने बताउनुभएको छ। संविधानले प्रदान गरेको अधिकारको सदुपयोग गर्दै मातृभाषामा कक्षा सञ्चालन गर्न सकेमात्र भाषाको संरक्षण हुने बताउनुभएको हो ।

भाषा आयोगले पाल्पाको रामपुरमा आयोजना गरेको मगर ढुट भाषाको अन्तरसम्बन्धको अध्ययन तथा नेपाल भाषासम्बन्धी अन्तर्क्रियामा सहभागी हुँदै ठाकुरले मातृभाषा बाट शिक्षा सञ्चालन गर्न, आफ्ना उत्पादनको ब्रान्डिङ गर्न र गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था संविधानमा रहेको बताउनुभयो । 

भाषाको आधारमा भेद्भाव गर्न नपाइने बताउँदै भाषालाई ब्रान्डिङको रूपमा अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो । उत्पादनमा पछि पर्यौं भने हाम्रो भाषा बच्दैन । स्थानीय स्तरमा हुने उत्पादनलाई आफ्नै भाषाबाट ब्रान्ड बनाउन उहाँले आग्रह गर्नुभयो । "जुन समाजले आफ्नो मौलिक उत्पादन गर्न सक्दैन । उत्पादन सम्बन्ध बाट भाषालाई जोड्न सकिँदैन भने भाषाको हराएर जान्छ," उहाँले भन्नुभयो ।

भाषा उमार्न सकेनौं भने भौतिक पूर्वाधार निर्माणको अर्थ नहुने बताउनुभयो । नयाँ पुस्तालाई भाषासँग जोड्न आग्रह गर्दै उहाँले भन्नुभयो, "पहिला आफ्नो घर बाट सुरु गर्नुस् । नयाँ पुस्तालाई पुस्तान्तरण गर्नुस् । तब मात्र मातृभाषाको विकास हुन्छ ।" कुनै पनि भाषाको एकनासले विकास भएको इतिहास नरहने भन्दै बोल्नु र लेख्नु भनेको भाषालाई पुनर्जीवन दिनु भएको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले पहिचानका लागि भाषा अनिवार्य रहेको बताउनुभयो । भाषा तथा संस्कृतिलाई एकै साथ अघि बढाउने बताउनुभयो । कार्यक्रममा आयोगका का.मु. सचिव डाक्टर लोकबहादुर लोप्चनले भाषा संरक्षणको लागि समुदायस्तर र विद्यालयस्तरमा कक्षा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले आयोगले सरकारी भाषा कामकाजको भाषा सिफारिस, भाषाहरूको संरक्षण तथा संवर्धनका लागि अभिलेख र भाषाकक्षा सञ्चालन, मातृभाषामा शिक्षा सिफारिस र सहजीकरण, अध्ययन अनुसन्धान र समन्वय, आन्तरभाषिक अनुवाद यान्त्रिकीकरण भाषिक सन्देश जारी गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा मगर भाषा विज्ञ लोकबहादुर थापाले सबैको सक्रियताले मात्र भाषाको संरक्षण र जगेर्ना गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य क्या. धन बहादुर राना, नेपाल मगर सङ्घका अध्यक्ष रामबहादुर हिस्की थापा, एकीकृत मगर उत्थान समाजका अध्यक्ष देवबहादुर थापा मश्राङ्गी, नेवास् देय दवु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ र रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले भाषा नबोल्नाले मातृभाषा लोप भएको बताएका थिए । उहाँहरूले बसाइसराई र परिवारले बालबालिकाको भाषा ध्यान दिन नसक्दा लोप भएको बताउनुभएकाे थियाे ।