• ३१ जेठ २०८२, शनिबार

सिमेन्टमा नेपाल आत्मनिर्भर छ : मन्त्री दाहाल

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सोमबार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ । सोमबार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो जोड दिनुभएको हो ।

उहाँले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाललाई कनेक्टीभिटीको हिसावले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको बताउनुभयो । विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गर्नुभयो । सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताउनुभयो । 

‘‘नेपाल सिमेन्टमा पूर्ण रुपले आत्मनिर्भर भयो भनेर अध्यक्षज्युुलाई सोधको थिएँ । पूर्ण रुपमा आत्मनिर्भर मात्रै होइन, सिमेन्ट बाहिर पठाउने, बाहिर बेच्ने अवस्थामा पनि पुगेको छ भन्नुभयो । सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ भने अब हामीले हाम्रै देशमा यसलाई कसरी लगाउने ? त्यसमा सोच्नुपर्छ ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘जसरी हामी विद्युत उत्पादन गरिरहेका छौँ र देशमै खपत गर्ने कुरा गरिरहेका छौँ । त्यसैगरी सिमेन्ट उत्पादन गरिरहेका छौँ, आत्मनिर्भर भएका छौँ । निर्यात गर्ने अवस्थामा पुगेका छौँ भने यहीँ खपत किन नगर्ने ? कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौँ । सडकहरुमा व्यापक रुपमा मजबुत सडक बनाऔँ । त्यो ढंगले गर्न सकिन्छ ।’’ मन्त्री दाहालले अब कंक्रिट प्रविधिमा जानुपर्ने बताउनुभयो ।