रमेश विश्वकर्मा
गुल्मी, जेठ ५ गते । गुल्मीको मालिका गाउँपालिकाले गाउँमै सर्वसुलभ, गुणस्तरीय शिक्षा प्रदान गरी बढ्दो बसाइँसराइ रोक्न पालिका पाँच वर्षे आवधिक गाउँ शिक्षा योजनाको तयारीमा जुटेको छ । प्रधानाध्यापक, शिक्षक, अभिभावक, बुद्धिजीवी शिक्षा प्रेमीको सुझाव, वडास्तरमा गाउँ शिक्षा समिति सदस्यबाट व्यापक छलफल र अध्ययनपछि आवधिक योजनाको मस्यौदा तयार पारिएको छ ।
छ सदस्यीय टोलीले तीन महिनाको लगाएर ९९ वटा नयाँ शैक्षिक कार्यक्रम मस्यौदा मार्फत पेश पेस गरेको शिक्षा शाखाका प्रमुख एवम् मस्यौदा लेखन समितिका संयोजक भुम घर्ती मगरले बताउनुभयो । मस्यौदाको बारेमा विज्ञहरुको सुझाव लिन पालिकाले शैक्षिक सम्मेलन समेत गरेको छ । शैक्षिक सम्मेलनमा विज्ञहरुले आफ्ना राय सुझाव पेस गरेका थिए । पालिकाको यो कार्यक्रमले शैक्षिक उपलब्धि राम्रो हुने शिक्षाविद डा. नगेन्द्र अर्यालको बताउनुभयो ।
९९ वटा नयाँ कार्यक्रममा स्वास्थ्य, पोषण, प्राथमिक उपचार, आपतकालीन व्यवस्थापन र दीगो विकास अभ्यासहरू समावेश छन् । यस पहलले विद्यार्थीलाई स्थानीय संस्कृति र परम्परासँग जोड्ने उद्देश्य राखेको छ । साथै सार्वजनिक पुस्तकालयको अवधारणा, प्रविधि पार्क, हरित विद्यालय जस्ता अवधारणा समेत राखिएको छ । मालिकाको कार्यक्रम छिमेकी स्थानीय तहको लागि पनि सिक्न लायक भएको बागलुङको बढिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा बताउनुभयो ।
पालिकाले शिक्षा र स्वास्थ्यलाई मध्यनजर गरी अहिले विभिन्न कार्यहरु गरिरहेको छ । २०८० लाई शैक्षिक सुधार वर्ष घोषणा गरी शिक्षामा नयाँपन आएको पालिका अध्यक्ष देवीराम अर्यालले बताउनुभयो । साथै शैक्षिक सम्मेलनका एजेन्डा लागू गर्न सके मालिकाको मुहारनै फेरिने अर्जैका पुर्व वडा अध्यक्ष शोभा खर गिरी बताउनुभयो । पाँच वर्षे आवधिक योजनाले शैक्षिक क्षेत्रमा उल्लेखनीय काम हुने शिक्षाविद कृष्ण भण्डारीले बताउनुभयो ।
विज्ञहरुको सुझावपछि लेखाजोखा गरी कार्यपालिकाले पारित गरेपछि कार्यक्रम लागू हुने उपाध्यक्ष उपेन्द्र अर्यालले बताउनुभयो । मस्यौदा लेखन समितिले सूक्ष्म अध्ययन र ठुलो संघर्ष गरेर राम्रा र मालिकाको माटो सुहाउँदो कार्यक्रम तयार पारेको प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताउनुभयो । आवधिक योजना सबैको लागि अनुकरणीय भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । यो कार्यक्रम आफ्नो नगरमा समेत लागू गर्ने उहाँको भनाइ छ ।
मालिका गाउँपालिकाले शिक्षा क्षेत्रमा चासो दिँदै एकै पटक कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू समेत गरेको छ । अध्यक्षसँग विद्यार्थी र अभिभावकसँग उपाध्यक्ष कार्यक्रम लिएर अभिभावक र विद्यार्थीका समस्या बुझ्ने महत्त्वपूर्ण कार्यक्रम समेत मालिकामा रहेको छ । दिनप्रतिदिन शिक्षालाई प्रविधिसँग जोड्न मालिका गाउँपालिका लागि परेको बताइएको छ । अहिले मालिका गाउँपालिकाका ५४ विद्यालयमा ६ हजार विद्यार्थीले अध्ययरत रहेको पाइएको छ ।