• ५ जेठ २०८२, सोमबार

विद्यार्थीलाई च्याउ खेती सिकाइँदै

blog

च्याउ खेतीका लागि काम गर्दै विद्यार्थी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ ५ गते । विद्यालयले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनका लागि च्याउ खेती सिकाउन थालेको छ । बेनी नगरपालिका १० पात्लेखेत स्थित दीपक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले च्याउ खेती थालेका हुन् । 

बेनी नगरपालिकाको सीपमुलक र प्रयोगात्मक परियोजना मार्फत विद्यार्थीलाई च्याउ खेती सिकाउन थालिएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामुहिक रूपमा ‘केन्ये’ जातको च्याउ खेती गरेको विद्यालयका प्रधानाध्यापक विष्णु ढुङ्गानाले जानकारी दिनुभयो । किताबको पढाइभन्दा प्रयोगात्मक क्रियाकलापमा विद्यार्थीको अभिरुची देखिएको उहाँले जानकारी दिनुभयो । 

विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान, सीप सिकाउने र उद्यमशिल बनाउने उद्देश्यले च्याउ खेती थालेका छौं, प्रअ ढुङ्गानाले भन्नुभयो, ‘‘विद्यालयले सुरु गरेको च्याउ खेतीमा विद्यार्थी उत्साहित भएर काम गरेका छन् । व्यवहारिक सीप सिक्न पाउँदा खुसी भएका छन् ।’’ बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौं, हामी गर्छौ) कार्यक्रमको सहयोगमा च्याउ खेती गरिएको उहाँले जानकारी दिनुभयो । 

शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल पकाएर एक सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बिउ सहित विद्यालय परिसरको हाल प्रयोगविहीन रहेको पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेकोको उहाँले बताउनुभयो ।  

उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बिक्री गर्ने विद्यालयको योजना रहेको प्रअ ढुङ्गानाले सुनाउनुभयो । विद्यार्थीलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिव्या बरालले च्याउ खेती प्रविधि सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिनुभएको थियो । 

चालु आर्थिक वर्ष २०८१-०८२ मा दिपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयलाई हामी सक्छौ, हामी गर्छौ कार्यक्रम सञ्चालन भएको छ । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका शिक्षा उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई  एक-एक लाख सहयोग गरेको छ । दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने विश्वास गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।