एकेन्द्र महता
अछाम, जेठ ५ गते । अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।
चौथो पटक व्यावसायिक उडानमा काठमाडौँदेखि १५ जना र कमलबजारदेखि १४ जनाले यात्रा गरेको नगर प्रमुख ढकालले बताउनुभयो । गत हप्ता मौसम खराबीका कारण उडान नभए पनि अन्य हप्तामा नियमित उडान हुने उहाँको भनाइ छ । वैशाख ७ गतेबाट व्यावसायिक उडानको उद्घाटनसहित सुरु भएको थियो ।
यसैबिच निकट भविष्यमै कमलबजारमा नागरिक उड्डयन प्राधिकरणको कार्यालय समेत कमलबजारमै स्थापना गरिने भएको छ । नगर प्रमुख ढकालका अनुसार अहिले साँफेबगरबाट कर्मचारी खटाइने भए पनि निकट भविष्यमा कमलबजारमै कार्यालय स्थापना गरेर दुई जना कर्मचारी प्राधिकरणबाट खटाइने गरी पहल गरिरहेकाे उहाँले बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरुमा आफ्नै कार्यालय रहेका दुई भवन जुन यस अघि प्रहरीको कार्यालय रहको थियो । प्रहरीको कार्यालय आफ्नै नयाँ भवनमा सरे पछि त्यसको मर्मत सम्भार तथा व्यवस्थापन गरेर कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो ।
हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यावसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगर प्रमुख ढकालले बताउनुभयो । नियमित उडान हुँदा यस क्षेत्रका नागरिकलाई सहजता हुने भएको छ ।