• ५ जेठ २०८२, सोमबार

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

blog

काठमाडौँ, जेठ ५  गते ।  काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । 

यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स डिजाइन रहेका कामपाले जानकारी दिएको छ ।  

रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । झाका अनुसार यस क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एन्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम गर्ने तयारी थियो । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी चार पेसा राखिएका थिए । 

यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेसासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन् । पेसातर्फ आठ वटा थपिएपछि तालिम सञ्चालन हुने पेसा ४२ पुगेको छ । तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुला भइसकेको छ । अनलाइन फाराम भर्न नजान्ने  कठिन हुनेहरूका लागि सहजीकरण गर्न आज राष्ट्रियसभा गृहमा सहायता कक्ष राख्ने योजना गरिएको समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो । 

हालसम्ममा तीन हजार ५७६ जनाले अनलाइन आवेदन दिइसक्नुभएको छ । यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ छ । यसपछि क्रमशः बारिस्ता, एआइ, बेकरी र ब्युटिसियनको छ । कामपाले सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । 

कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिनेछ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइने छ । 

तालिमका क्षेत्र र विधा

दस वटा क्षेत्रका ४२ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुने छ । दैनिक छ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइने छ । रासस