• ५ जेठ २०८२, सोमबार

फुटबल खेलाडी सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ साम्बाचोक स्थापना

blog

लमजुङ जिल्लाको मरस्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा)को स्तम्भ । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, जेठ ५ गते । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपिएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ ।

सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले लमजुङ जिल्लाको मरस्याङ्दी  गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले सोमबार उद्घाटन गर्नुभएको जानकारी दिनुभयो ।

नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुग्नुभएको छ । हाल उहाँ फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध हुनुहुन्छ ।

उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी  गाउँपालिका–९ का वडाध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार साम्बाका बुवा आमालाई समेत सम्मान गरिएको थियो ।