• ५ जेठ २०८२, सोमबार

गलकोटको हरिचौर–हिलहुँदै ताराखोला जोड्ने सडक कालोपत्र

blog

गलकोटको हरिचौर–हिल–ताराखोला खण्डमा कालोपत्र गरिदै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, जेठ ५ गते ।
मध्यपहाडी लोकमार्गको गलकोट खण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ ।

गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दीको रुम जोड्ने सडकको पहिलो खण्डमा झण्डै ११ किलोमिटर सडक स्तरोन्नतीसंगै धमाधम कालोपत्र गर्ने काम भइरहेको योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । सडकको संशोधित लागत अनुमान ४५ करोड ४७ लाख ५९ हजार नौ सय २६ रुपियाँ रहेपनि एमएस एपेक्स खड्का कृष्ण जेभीले २८ करोड १५ लाख सात हजार ७२ रुपियाँमा ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रको काम गरिरहेको छ ।   

२०७८ कात्तिक २६ गतेभित्र योजना सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नसकिएपछि २०८१ चैत्र २९ गते सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थपेको थियो । सडकको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति रहेको छ । आगामी असार मसान्तभित्र काम सक्ने लक्ष्यसहित पर्याप्त मजदुर र मेशिन प्रयोग गरिरहेको निर्माण कम्पनीले ७२ प्रतिशत भुक्तानी लगिसकेको पूर्वाधार विकासले जनाएको छ । 

उक्त सडक खण्डको ६ किलोमिटरमा डिबिएसटी प्रविधिको कालोपत्र गरिएको छ भने पाँच सय मिटर सडकमा ढलान गरिएको इन्जिनियर पुनले बताउनुभयो । बाँकी रहेको करिब साढे तीन किलोमीटर खण्डमा सडक विस्तार, टेवा पर्खाल, नाली निर्माण गरेर सव–वेस विछ्याउने काम सकेर कालोपत्र विछ्याउन मात्रै बाँकी रहेकोले तोकिएकै समयमा काम सम्पन्न हुनेमा इन्जिनियर पुनले विश्वास व्यक्त गर्नुभयो ।

गलकोटको हरिचौरदेखि ताराखोलाको हिलहुँदै साँघुबोट जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई बाह्रैमास यात्रामा सहज हुनुका साथै अर्गानिक गाउँको परिचय बनाएको ताराखोलाको आलु, भाँगो लगायतका कृषिउपज बजारीकरणमा पनि राहत हुने छ । ‘‘वर्षामा बिहुँको रिजालचोकदेखि अर्गलहुँदै करिमेला जोड्ने सडक पहिलो पटक पटक अवरुद्व हुने र साँघुबोट–हिल–गलकोट सडक हिलाम्य हुँदा ताराखाले आलु ढुवानीमा कृषक सास्ती भोग्दै आएका थिए, सडक कालोपत्र भएपछि ढुक्क भयो’’ स्थानीय दिवस खत्रीले भन्नुभयो ।

सडक कालोपत्र हुँदा गलकोट नगर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बढी राहत हुने छ । हरिचौर, हिल र ताराखोला आसपासमा उत्पादनमा हुने कृषि उपज ढुवानीमा सहज हुनुका साथै पर्यटकीय गाईघाट झरना, ऐतिहासिक गलकोटे दरबार, अन्तर्राष्ट्रिय मुर्तिकला पुग्ने पर्यटकलाई सजिलो हुने स्थानीय थम्मन थापा बताउनुहुन्छ ।

गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दी जिल्लाको रुम जोड्ने सडकको दोस्रो खण्ड साँघुबोट दोगाडी सडक स्तरोन्नतिको काम चलेपछि स्थानीयबासी खुसी भएका छन् । ८ करोड ६० लाख रुपियाँमा तीन किमि सडक स्तरोन्नतीसँगै कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएर निर्माण व्यवसायी कार्यक्षेत्रमा खटिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।