• ५ जेठ २०८२, सोमबार

तरबुजाको हब बाणगङ्गा बगर (फोटो फिचर)

blog

बिक्रीका लागि तरबुजा सङ्कलन गर्दै कृषक । तस्बिर: जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ ५ गते । तरकारी उत्पादनको उर्वर भूमि मानिने कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, रामघाट (बाणगङ्गा नदीको बगर) मा अहिले तरबुजा टिप्न भ्याइनभ्याई छ। यहाँको मोतिनगर, चेतरादेई र भगवानपुरका करिब तीन दर्जन कृषकले बगरे खेतीमार्फत तरबुजा उत्पादन गर्दै आएका छन् । यस वर्ष पनि कृषकहरूले उल्लेखनीय मात्रामा तरबुजा उत्पादन गरेका छन् । उर्वर जमिनमा मिहिनती हात र मौसमको साथले गर्दा तरबुजा मिठो र रसिलो बनेको छ । तर उत्पादन जति राम्रो भए पनि, बिक्री भने किसानहरूका लागि चुनौती बनेको छ ।

मोतीनगरका कृषक गङ्गासागर केवट भन्नु हुन्छ, “हामीले यसपालि राम्रो तरबुजा फलाएका छौँ । ताइवानी जातको तरबुजा खेतमा लगाएको थिएँ । अहिले बिक्री योग्य भएको छ तर बजारमा भारतीय तरबुजा छिरेपछि हामीलाई सस्तोमा बेच्नुपरेको छ ।” भारतीय तरबुजा सहजै भित्रिएपछि स्थानीय तरबुजाको बजार प्रभावित भएको किसानहरू बताउँछन् । ग्राहकले स्थानीय उत्पादन खोज्दै आउँछन्, तर जानकारीको अभावमा भारतीय तरबुजा किन्ने गर्छन् ।

हाल तौलिहवा गोरुसिङ्गे सडक खण्डको रामघाटमा किसानहरूले प्रति केजी ३० देखि ३५ रुपैयाँमा तरबुजा बेचिरहेका छन् । तर केही व्यापारीले भारतीय तरबुजा स्थानीय भनेर प्रति केजी ५० रुपैयाँमा गरेका छन् । २ महिना अगाडिदेखि तीन जना व्यापारीले सडक छेउ कब्जा गरी भारतीय तरबुजा बिक्री गर्दा समस्या भएको कृषक ज्ञानमती केवटले बताउनु भयो । कृषकहरूले तरबुजासँगै काँक्रा, बोडी, फर्सी जस्ता मौसमी तरकारीहरू पनि बगरमै उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादन भएको तरकारी स्थानीय हाटबजारसहित छिमेकी जिल्ला अर्घाखाँची र रूपन्देहीसम्म पुग्ने गरेको छ ।