• ५ जेठ २०८२, सोमबार

किड्स च्याम्पियन सम्पन्न

blog

काठमाडौँ (गोरखापत्र), जेठ ५ गते । बालबालिकाको मानसिक र शारीरिक विकासलाई टेवा पुग्ने उद्देश्यले ललितपुरमा भएको बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल २०२५’ को सातौँ संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा आनिन लिम्बूले सर्वोत्कृष्टको उपाधि हात पार्दा सिनियरतर्फको उपाधि लक्षणा थापा र प्रशान्त कार्कीले हात पार्नुभएको छ । त्यस्तै जुनियरतर्फ सान्बी श्रेष्ठले उपाधि जित्नुभयो ।

टच इन्टरटेनमेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा रिसिका लामिछाने दोस्रो, प्रिन्सेस श्रेष्ठ तेस्रो, कस्तुप कोइराला चौथो र प्रज्वल क्षेत्री पाँचौँ हुनुभयो । प्रतियोगितामा लक्षणा थापाले मोस्ट पपुलर अवार्डसँगै आइएमई पे पब्लिक च्वाइसतर्फको अवार्डसमेत जित्नुभयो । त्यस्तै आइएमई पे पब्लिक च्वाइस अवार्ड (पुरुष) तर्फ प्रशान्त कार्कीले हात पार्नुभयो । प्रतियोगितामा विभूति पौडेल बालिकातर्फबाट लिटिल स्टार र आभान बराकोटीले बालकको तर्फबाट उपाधि जित्नुभयो । त्यस्तै रिवान श्रेष्ठ लिटिल प्रिन्स हुनुभएको थियो । 

ललितपुरस्थित ज्यापु समाज केन्द्रमा आयोजना भएको प्रतियोगितामा विभिन्न उमेरका १२ जना बालबालिकाले सहभागिता जनाएका थिए । दिक्पाल कार्कीको कोरियोग्राफीमा भएको प्रतियोगितामा वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालले अभिनय प्रशिक्षण दिनुभएको थियो । प्रतियोगीलाई अभिनेता एसराज गराच (एसराज), राजन बुढाथोकी, गोपाल ढकाल तथा परिस्ना बास्तोलाले समेत विभिन्न प्रशिक्षण दिनुभएको थियो ।