काठमाडौँ, जेठ ४ गते। काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले सुरक्षा प्रविधिमा लगानी गर्नुपर्ने बताउनुभएको छ।
नेपाल आदर्श माध्यामिक विद्यालय, गणबहालमा आइतबार आयोजित सामुदायिक सुरक्षा एवम् अपराध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को क्षेत्रमा सुरक्षाकर्मीलाई प्रशिक्षणको खाँँचो महसुस भएकोले सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
सामान्यतया, विकास निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत प्रशासकीय काम हुने भए पनि सुरक्षाका सम्बन्धमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। आगामी दिनमा सुरक्षाको कार्यक्रम थप प्रभावकारी रुपमा अघि बढाइने उहाँको भनाइ छ।
उहाँले सुरक्षा पेशा सहज नभएको भन्नुहुँदै सुरक्षाकर्मीले यस क्षेत्रको भूगोल एवम् सामाजिक अवस्थाको सम्पूर्ण जानकारी राख्नुपर्ने बताउनुभयो।
यस्तै, जनसेवा प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले यस क्षेत्रमा रात्रीकालीन अवधिमा सुरक्षा पेशा चुनौतीपूर्ण रहेको बताउनुभयो।
बैंङ्क तथा वित्तिय क्षेत्र, धार्मिक तथा सांस्कृतिक सम्पदा, सुन चाँदी व्यवसाय, लगायत सबै प्रतिष्ठानमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले रात्रीकालीन पोशाक, व्यक्तिगत सुरक्षा, दक्षता, आचारसंहिता एवम् नैतिकता सबै विषयमा ध्यान दिनसक्नुपर्ने बताउनुभयो।
गर्मीयाममा आगलागी, वर्खायाममा डुबान लगायतका विपद्जन्य अवस्थामा सूचनाआदनप्रदान लगायत सुरक्षाका विषयमा थप संवेदनशील र सक्रिय रहनुपर्ने उहाँको भनाइ छ।
उहाँले स्थानीय तहसँग सम्पर्क र संवादमा रहेर सुरक्षा पेशालाई थप प्रभावकारी बनाउन सकिने भनाइ राख्नुभयो।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का सदस्य सुनिल हाडा, कार्यकापालिका सदस्य ललिता खड्गी, सिटिजन्स बैङ्कमा शाखा प्रबन्धक सुशान्त वल्लभ पन्त लगायत विभिन्न क्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहभागीता रहेको थियो।