• ३ जेठ २०८२, शनिबार

पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण

blog

पाठेघर मुखको क्यान्सर परीक्षण शिविरमा चेकजाँच गराउने कार्यक्रममा अतिथिहरू । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, जेठ ३ गते । लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षणका लागि उत्तरी भेगका दुर्गम वडामा स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य शिविरमा पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।

लहान –१७ मा सुरु गरेको शिविरमा ३० वर्षदेखि ५५ वर्षका महिलाका लागि शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखाका प्रमुख रीता यादवले बताउनुभयो । शिविरमा जाँच गराउन आउनुभएका महिला क्यान्सर हुने अवस्था आउन सक्ने बिरामीहरूको थप उपचारका लागि लहान नगरपालिकाले उपचार गराउनेगरी शिविर सञ्चालनमा ल्याइएको हो । 

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान –१७ सम्पन्न गरेर २४ नम्बर वडामा शिविर भइरहेको उहाँले जानकारी दिनुभयो । विपन्न दलित महिला पाठेघरको समस्याले पीडित रहेको र उपचार गराउन नसकिरहेको समस्या लहान–१७ र २४ नम्बरबाट आएकाले नगरपालिकाले उपलब्ध गराएको बजेटबाट यो कार्यक्रम चलिरहेको स्वास्थ्य शाखा प्रमुख यादवले बताउनुभयो ।

‘जोखिम काम, पौष्टिक आहारको कमी, समयमै उपचार गराउन नसक्दा क्यान्सर रोगबाट पीडित भइ मृत्युको मुखमा पर्ने गरिरहेको अवस्थाबाट मुक्त हुन यो परीक्षण प्रभावकरी भएको छ’ प्रमुख यादवले भन्नुभयो । 

लहान नगरपालिकाकाको समृद्धि र विकासको आधार शिक्षा स्वास्थ्य र सडक पूर्वाधार रहेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । दलित र विपन्न समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य सेवाका लागि नगर अस्पताल निर्माण कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । 

गत वर्ष लहानको २४ वटै वडामा सगरमाथा चौधरी आँखा अस्पतालसाग समन्वय गरेर आँखा जाँच शिविर सञ्चालनमा ल्याएर निःशुल्क उपचार गराएको र यसवर्ष निःशुल्क पाठेघर क्यान्सर जाँचका लागि परीक्षण सुरु गरिएको उहाँले जानकारी गराउनुभयो । 

आफू लहान नगरपालिकामा निर्वाचित भएपछि दलित विपन्न बस्तीका गर्भवती महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक महिनाको २२ गते पोषण प्याकेज वितरण कार्यलाई निरन्तरता दिइँदै आइरहेको नगर प्रमुख चौधरीले प्रष्ट पार्नुभयो । 

पोषण प्याकेजमा १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक किलो गेडागुडी मिलाएर पोषण प्याकेज बनाइएको छ ।