• १९ असोज २०८१, शनिबार

सल्लेरीमै बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा

blog

सन्तोष राउत

सोलुखुम्बु, जेठ २७ गते। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा सञ्चालन गरिने भएको छ। प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीको यस प्रणालीमा दर्ता गर्नका लागि सल्लेरीमै दुई दिने सेवा प्रदान गरिने भएपछि व्यवसायीलाई सहज हुने भएको छ।

यही जेठ २८ र २९ गते उद्योग वाणिज्य संघ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीको बायो मेट्रिक प्रणालीमा दर्ता गर्ने कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ सोलुखुम्बुका प्रतिनिधि सदस्य रामलाल श्रेष्ठले जानकारी दिनुभयो।

अन्य समयमा यही कामको लागि ओखलढुङ्गामा रहेको कार्यालयमा पुग्नुपर्ने र भनेको समयमा काम नहुँदा व्यवसायी समस्यामा थिए। यो अवसरलाई सबै व्यवसायीले उपयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ सोलुखुम्बुका सदस्य भानुभक्त उपाध्यायले बताउनुभयो। 

सोलुखुम्बुमा कर कार्यालय नहुँदा कर सम्बन्धी सबै काम गर्न झन्झटिलो र खर्चिलो हुने गरेको व्यवसायीको भनाइ छ।

करदाता सेवा कार्यालय ओखलढुङ्गाको फाइल तस्बिर