• १ जेठ २०८२, बिहिबार

ताप्लेजुङमा सिरिजङ्घा बन्यो कम बेरुजु हुने पालिका

blog

सिरिजङ्घा गाउँपालिकाको कार्यालय ।

साहारा लिम्बू

फुङ्लिङ, जेठ १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार सिरिजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका भएको हो । 

सिरिजङ्घा गाउँपालिकाको बेरुजु १.०८ प्रतिशत देखिएको छ। यस्तै सबैभन्दा धेरै बेरुजु मैवाखोला गाउँपालिकाको देखिएको छ। मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिएको छ भने फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ। आठराई त्रिवेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत देखिँदा सिदिङ्गा गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत देखिएको छ।

मेरिङदेन गाउँपालिकाको बेरुजु ४.९५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत र मिक्वाखोलाको बेरुजु ५.७० प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ताप्लेजुङ जिल्लामा एक नगरपालिका सहित आठ गाउँपालिका गरि जम्मा नौँ स्थानीय तह रहेका छन् । ‘बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पुर्‍याएकाे कारोबार बुझिन्छ।