बिष्णुप्रसाद पोखरेल
दमक, असार २ गते । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई ‘प्रदेशस्तरीय आयुर्वेद शिक्षण अस्पताल’ को रूपमा स्तरोन्नति गर्ने भएको छ । आइतबार प्रस्तुत बजेटमा अस्पतालको व्यवस्थापन सुदृढीकरण गर्दै पूर्वी नेपालकै प्रमुख आयुर्वेदिक शिक्षण तथा सेवा केन्द्रको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।
कोशी प्रदेश सरकारले प्रादेशिक आयुर्वेद प्रतिष्ठान र शिक्षण अस्पतालको सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेस गर्नका लागि केही महिना अघि डा. खेम कार्कीको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यहाँ प्रतिष्ठान बनाउन र शिक्षण अस्पताल सञ्चालन गर्न उपयुक्त रहेको ठहरसहित प्रतिवेदन बुझाएको थियो ।
प्रादेशिक आर्युवेद अस्पताल लखनपुरका निमित्त निर्देशक डा.सिद्धार्थ ठाकुरका अनुसार ५० बेड क्षमताको अस्पतालको स्तरउन्नतीसहित शिक्षण अस्पताल बनाउनका लागि स्थानीयले गरेको प्रयास र कोशी प्रदेश सरकारले आर्युवेद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कोशी प्रदेशका अधिकांश जिल्लाबाट अहिले जटिल प्रकारका बिरामीहरु आएर यहाँ उपचार गराइरहेको र यसको स्तरउन्नती हुनु आर्युवेद क्षेत्रमा गौरवको विषय भएको उहाँको भनाइ छ । एउटा अस्पतालको रुपमा मात्र नभएर कोशी प्रदेशको आर्युवेद क्षेत्रको एउटा मुख्य केन्द्र बनाउने प्रदेश सरकारको सोचलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको जानकारी उहाँले दिनुभयो ।
पूर्वी नेपालकै प्रमुख आयुर्वेदिक शिक्षण तथा सेवा केन्द्रको रूपमा विकास गरिने गरी बजेटमा उल्लेख भएकाले यसलाई चाँडो कार्यन्वयनमा लैजान सकेमा स्वास्थ्य क्षेत्रमा यो एउटा महत्त्वपूर्ण कमद सावित हुने संविधान सभा सदस्य दिपक कार्कीले बताउनुभयो । यसका लागि पूर्वाधार निर्माण, विशेषज्ञ जनशक्ति व्यवस्थापन, उपकरण विस्तार र आवश्यक शैक्षिक कार्यक्रम सुरु गर्न ढिलाइ गरिनु नहुने उहाँले जनाउनुभयो ।
गौरीगन्ज बहुमुखि क्याम्पसका अध्यक्ष मखना महतोले कोशी प्रदेश सरकारले कोशी प्रदेशमा नै पहिलो पटक आयुर्वेदको विषय पढाइ हुने गरी शिक्षण अस्पतालको रुपमा प्रादेशिक आर्युवेद अस्पतालको विकास गर्ने बजेटमा आउदा खुशि लागेको बताउनुभयो । यो प्रदेश सरकारको नयाँ र अनुकरणयोग्य विषय भएको महतोका भनाइ छ ।
कोशी सरकारको यो कदमले कोशी प्रदेशमै उच्चस्तरीय आयुर्वेदिक सेवा र अध्ययनको अवसर सिर्जना गर्ने बताइएको छ । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेट निर्माणको विषयमा छलफल भइरहदा मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्य मन्त्री भुपेन्द्र राईसहितको टोली आएर अस्पतालको अनुगमन र निरीक्षण गर्दै सरोकारवालाहरुसँग छलफल गरेको थियो ।