ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १ गते । जलजला गाउँपालिका ३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । पर्वत बेनीदेखि जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक खण्ड अन्तर्गत माझफाँटको स्वास्थ्य चौकी देखि लेकफाँटको गिद्देश्वरसम्म साढे सात किलोमिटर दूरीको सडक कालोपत्रे गरिएको हो ।
सडक कालोपत्रे भएपछि हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे सडकको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेसँगै स्थानीयहरू खुसी भएका छन् । सडक कालोपत्रे भएपछि जलजलाका २,३,४,५, र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयहरू लाभान्वित भएका छन् ।
सडकको ट्रयाक खुलेको करिब डेढदशक पछि सडक स्तरोन्नतिसहित दुई लेनको सडक कालोपत्रे भएकाले स्थानीयहरू खुसी भएको जलजला गाउँपालिका ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । साघुरो र भिरालो सडकलाई फराकिलो, ग्रेड सुधार, घुम्ती सुधार, नाली निर्माण, टेवा पर्खाल लगायतका संरचनाहरू निर्माण गरेर सडक कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले बताउनुभयो ।
पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम गिरीको सिफारिसमा संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना अन्तर्गत तीन वर्ष अघि सडक डिभिजन कार्यालय पोखराले ठेक्का मार्फत सडक स्तरोन्नति सहित कालोपत्रे आयोजना अघि बढाएको थियो ।
माझफाँटको स्वास्थ्यचौकीदेखि मल्लाज कोटघर हुँदै लेकफाँटको गिद्देश्वरको सिम सम्मको सात दशमलव ६ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न करिब ३३ करोड रुपियाँ बराबरको लागत अनुमान गरिएको थियो ।
सडक कालोपत्रे आयोजनालाई कार्यान्वयन गर्न सडक डिभिजन कार्यालय पोखराले रायमाझी कन्स्ट्रक्सन काठमाडाैँ सँग आर्थिक वर्ष २०८१-०८२ सम्म निर्माण सम्पन्न गर्नेगरी २०७९ भदौ ९ गते २५ करोड ९७ लाख रुपियाँमा ठेक्का सम्झौता भएको डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । ठेक्का सम्झौता लगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले समयमै योजना सम्पन्न गरेको उहाँले बताउनुभयो । विभिन्न खण्डमा गरेर १४ सय मिटर सडक ढलान गरिएको उहाँले बताउनुभयो ।
पर्वत बेनीदेखि सवारीसाधनमा लेकफाँट पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा सडक स्तरोन्नतिसँगै कालोपत्रे भएपछि २० देखि २५ मिनेटमा पुग्न सकिने वडा नम्बर ५ लेकफाँटका वडाध्यक्ष तिलक जिसीले बताउनुभयो । सडक कालोपत्रे भएपछि घरछाडेर सहरबजार झरेका स्थानीयहरू गाउँ फर्किएर पुरानो घर मर्मत सम्भार गर्न थालेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कच्चि सडकमा जोखिमपूर्ण यात्राका कारण पनि कतिपय सर्वसाधारणहरु गाउँ आउन छाडिसकेका थिए । अहिले सडक राम्रो बनेसँगै सहरबजार झरेकाहरु गाउँ फर्किएर पुरानो घर मर्मत सम्भार गर्न थालेका छन् ।’’
लामो समय देखि पोखरामा बसोवास गर्नुहुने स्थानीय रामबहादुर जिसीले यतिखेर घर मर्मत सम्भार गर्न थाल्नुभएको छ । सडकका कारण कहिलेकाहीँ गाउँ आउन पनि मन लाग्ने थिएन अहिले सडक कालोपत्रे भएपछि महिनामा दुईचार दिन गाउँ आउन थालेको छु उहाँले भन्नुभयो, ‘‘सडक कालोपत्रे सँगै सुरक्षित यात्रा गर्न पाइने भएपछि बेलाबखत गाउँ आउन थालेको छु । अहिले मैले पुरानो घर मर्मतसम्भार गर्न लागेको छु ।’’ विकासको आधार भनेको नै सडक भएकाले सडक राम्रो बनेपछि गाउँमा उत्साह छाएको उहाँको भनाइ थियो ।
विगतमा कच्चि सडकका कारण धुलो उडेर सडक छेउको घरमा वस्न समेत समस्या हुनेगरेको थियो माझफाँटका स्थानीय रामु खत्रीले भन्नुभयो, ‘‘सडक कालोपत्रे भएपछि गाउँको मुहार नै फेरिएको छ । सडकमा धुलो र हिलोको समस्या हटेको छ । आवतजावत गर्न निकै सहज भएको छ ।’’
गिद्देश्वर सम्म पुगेको कालोपत्रे सडकलाई फलामे डाँडा हुँदै म्याग्दीको नागी राम्चे पुर्याउन थप योजना आवश्यक भएको जलजला ५ का वडाध्यक्ष जिसीले बताउनुभयो । सडक कालोपत्रे भएसँगै लेकफाँट र नागी राम्चेका किसानले उत्पादन गरेको कृषि उपज बजार लैजान र गाउँमा खाद्यन्न लगायतका सामाग्री ढुवानीमा सहज भएको उहाँको भनाइ छ ।