• ३१ वैशाख २०८२, बुधबार

'आफ्नो गाउँ आफै बनाऊँ’ अभियानमा माझी समुदाय

blog

बाढीले बगाएको फुक्को गारो लगाउँदै मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदाय ।

नवराज श्रेष्ठ

रामेछाप, वैशाख ३१ गते । रामेछापको मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायमा अपार सामूहिक भावना र एकता छ । गाईखुरामा ६० घरभन्दा बढी माझी समुदायको बसोबास छ । 

गाईखुरामा हुने हरेक कार्यमा माझी समुदायको सामूहिक एकता देखिन्छ । यहाँका माझी समुदायले आफ्नो रीतिरिवाज, संस्कार संस्कृतिहरू मर्न दिएका छैनन् । आफ्नो रीतिरिवाज, संस्कार संस्कृति जगेर्ना गर्न किशोर अवस्थाकादेखि वृद्ध अवस्थाका सम्म सक्रिय छन् । अहिले गाईखुराका माझी समुदायले 'आफ्नो गाउँ आफै बनाऊँ' अभियान सञ्चालन गरिरहेका छन् । २०८१ असोज १२ गते तामाकोशीमा आएको बाढीले गाईखुरा बस्ती मुनिको ढुङ्गाको बाँध बगायो । 

बाढीले बगाएको बाँध पुनर्निर्माण लागि यहाँका माझी समुदायले स्थानीय सरकारसँग हारगुहार पनि गरे । तर वर्षाको समय सुरु हुन लाग्दा पनि क्षति भएका सबै बाँध पुनर्निर्माण हुन सकेन । अहिले गाईखुराका माझी समुदाय 'आफ्नो गाउँ आफै बनाऊँ' भन्दै (ढुङ्गाको बाँध)फुक्को गारो लगाउने काममा जुटेका छन् । केही दिनदेखि यहाँका माझी समुदायको दैनिकी बाढीले बगाएको फुक्को गारो लगाउनु बनेको छ । गाउँ भरिका पाका उमेरदेखि महिला, युवा र र किशोर उमेरका मानिसहरू बिहानैदेखि कोशीको ढुङ्गा बोक्ने र गारोे लगाउने काममा व्यस्त देखिन्छन् ।

'आफ्नो गाउँ आफै बनाऊँ' भन्ने मनसायले सबै गाउँले मिलेर बाढीले क्षति गरेको फुक्को गार्‍हाे लगाउने काम सुरु गरिएको स्थानीय बालकृष्ण माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०८१ असोज १२ गते तामाकोशीमा आएको बाढीले बस्ती नजिकैको ढुङ्गाको बाँध बगायो । जसले बस्तीमा जोखिम बढायो । वर्षा सुरु हुनु लाग्यो । तर बाँध निर्माणमा कसैको ध्यान गएन । अहिले पहिलाकै अवस्थामा ल्याउनका लागि फुक्को गार्‍हाे लगाउन हामी माझी समुदाय आफै जुटेका छौँ ।”

माझी समुदायमा यसबारे सल्लाह गर्दा आफ्नो गाउँ आफै जोगाउनुपर्छ भन्ने कुरा आएकाले गत सोमबारदेखि फुक्को गारो लगाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । यो अभियानमा गाईखुराबासीको सक्रिय सहभागिता रहेको उहाँले बताउनुभयो । 

पछिल्लो समय आफ्नो ठाउँमा सानातिना काम गर्न पनि स्थानीय सरकार वा अन्य कुनै निकायको मुख ताकेर बस्ने परिपाटीको विकास भइरहेको छ । यस्तो परिपाटीबाट गुज्रिरहेको हाम्रो समाजले गाईखुराका माझी समुदायको यो उदाहरणीय कामबाट केही सिक्नु जरुरी छ ।