• ३१ वैशाख २०८२, बुधबार

गहुँ चुट्ने ग्राब्री हराउँदै

blog

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं –२ कोल्टीका स्थानीय महिलाहरू ग्याब्रीको सहाराले गहुँ चुट्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, वैशाख ३१ गते । बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ । गहुँ जौ कोदो चुट्नका लागि पहिलेका पुस्ताले यहाँ ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने ) गर्थे । 

गहुँ जौ कोदो चुट्नका लागि प्राय आधुनिक मेसिन आउनु र गोरुको छाला नपाइने भएकाले पछिल्लो समय गाउँमा ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने ) प्रचलन हराउँदै गएको हो ।

पहिलेका पुस्ताहरूले गहुँ, जौ कोदो चुट्नका लागि गाउँमा ग्याब्री बाट्ने गथ्र्ये । अहिले गाउँमा आधुनिक खालको मेसिन आउने गरेकोले ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने )प्रचलन हराउँदै गएको स्थानीय बताउँछन् ।

बाजुरामा ग्याब्री (घँगारुको काठलाई गाई गोरुको छालाले बुन्ने) प्राय सार्की  समुदायले बाट्ने गर्छन् । उनीहरुले मरेको गोरुको छाला निकाल्ने र त्यसै छालाको तोला निकालेर वन देखि घँगारुको लौरो ल्याएर त्यसलाई ग्याब्री बनाउने गर्छन् । 

पछिल्लो समय यो समुदायले पनि ग्याब्री बाट्न छोडेको छ । उनीहरूका लागि यो एक प्रकारको व्यवसाय पनि थियो । सार्की समुदायका पुस्ताले यो ग्याब्री बाट्ने (घँगारुको काठलाई गाई गोरुको छालाले बुन्ने) र गाउँ गाउँमा लिएर बिक्री गर्ने गर्थे ।

अहिलेका युवा पुस्ताले छालाको काम छोडेर पैसा कमाउन भारतमा जाने गरेकोले पनि पछिल्लो समय ग्याब्री बाट्ने प्रचलन विस्तारै हराउँदै गएको हो । पहिला गाउँमा ग्याब्री हुँदा त्यसले गहुँ जौ कोदो चुट्न सहज हुने गरेको थियो । अहिले त्यो ग्राब्री विस्तारै हराउँदै गएपछि खाली लौरोले गहुँ जौ कोदो चुट्न निकै समस्या हुने गरेको हिमाली गाउँपालिका राधिका रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पैसा र धन हुनेले त गाउँमा आधुनिक खालको मेसिन ल्याएर त्यसले गहुँ चुट्ने गरेको छन् । हामी पैसा नहुनेका लागि त त्यो ग्याब्री निकै उपयागी हुने गरेको थियो । अहिले त्यो ग्याब्री नपाउँदा गहुँ चुट्न निकै समस्या हुने गरेको छ ।”

पहिला गाउँमा जताततै पाइने ग्याब्री अहिले कसैले नल्याउने भएकोले गहुँलाई ड्याग्नु तथा लौरोको सहाराले चुट्नु परेको रोकायाले बताउनुभयो । पहिलाका पुस्ताले रचेका सीप कला अहिलेका नयाँ पुस्ताई पनि त्यत्तिकै उपयोगी हुने गरको छन् । तर पनि अहिलेका पुस्ताले पुराना पुस्ताले छोडेर गएका सीप प्रयोगमा ल्याउँदैनन् ।

गहुँ पीस्न पानी घट्ट् गहुँ चुट्न ग्याब्री र गहुँ काट्न सरेटा यी सबै पुराना पुस्ताले बनाएका सीप हुन् । यी सीप त अहिलेका पुस्तालाई पनि उत्तीकै आवश्यक छन् । तर पनि अहिलेका नयाँ पुस्ताले यी सीप प्रति कुनै वास्ता गरेको पाईंदैन ।

यहाँका गाउँ बस्तीमा मङ्सिर महिलामा कोदो र वैशाख जेठको महिनामा गहुँ जौ चुट्ने बेलामा जताततै गाउँमा ग्याब्रीको आवाज आउने गथ्र्यो । तर अहिले प्राय त्यो आवाज विस्तारै हराउँदै गएको छ । अहिलेको युवा पुस्ताले प्राय खेतीमा नै आधुनिक खालको मेसिन प्रयोग गर्न थालेपछि त्यो आवाज पनि विस्तारै हराउँदै गएको हो ।

सीप अुनसारको पैसा नपाउँदा अहिले ग्याब्री बाट्न छोड्दै गएको बुढीगङ्गाका स्थानीय श्यामबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला वनमा धेरै घँगारुका लौरी पाउँथ्यो । अहिले पाउँदैन । पहिला गोरु पनि मेर्ने गथ्र्ये अहिले गाउँमा गोरु पनि मर्दैन गोरु नमरेपछि छाला पाउँदैन । त्यसैले पनि अहिले ग्याब्री बाट्ने काम बन्द भएको हो । ”

हुन त छाला नभए पनि डोरीले पनि ग्याब्री बाट्न सकिन्छ । तर त्यो त्यति टेकाउ हुँदैन । अहिले ग्याब्री भन्दा पनि दान लौरीले (एक प्रकारको घँगारुको लामो लौरीलाई टुप्पोमा निहुराईएर बनाएको ) त्यसले गहुँ चट्ने गरेको सार्कीले बताउनुभयो ।