हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख ३१ गते । विवाहमा गीत गाएर मस्त मनोरञ्जन गरिरहनु भएका दुई जना महिलाको मङ्गलबार राति ८ बजे करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङको रतुवामाई नगरपालिका ३ को मिर्चाडाँगीका मङ्गललाल सिंहको छोरा नीरजकुमार सिंहको विवाहमा गीत गाएर नाचिरहनु भएका सोही स्थानका सतारुलाल गनगाईकी श्रीमती ७३ वर्षीय सूर्य देवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती ७० वर्षीया रामुदेवी गनगाईको करेन्ट लागेर मृत्यु भएको हो । रतुवामाई –३ का वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार हरियो बाँसमा बाँधेर टेण्ड टाँगिएको थियो । राति हावा हुरी आएर हरियो बाँस ११ हजार केभीको हाई टेन्सनमा बाँस ढलेपछि सूर्यदेवी र रामुदेवीलाई करेन्ट लागेको थियो ।
सोही स्थानकी ३० वर्षीय राधाकुमारी सिंह करेन्टबाट घाइते हुनु भएको थियो । उहाँलाई झुर्किया नगर अस्पतालमा उपचार गरी घर पठाइएको वडाध्यक्ष ताजपुरियाले बताउनु भयो । मृतकको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाएको इलाका प्रहरी कार्यालय सिंजुवाले जनाएको छ । पोस्टमार्टम पछि बुधवार नै शव आफन्तलाई बुझाइने छ ।
मोरङको दक्षिण पूर्व कुनाको मिर्चाडाँगी रतुवाखोला पारी पर्छ । मिर्चाडाँगीमा अढाई सय परिवार बसोबास गर्दै आएका छन् । रतुवामा बाढी आएको बेला त्यहाँ पुग्न भारतीय भुमि प्रयोग गर्नुपर्छ ।