कास्की समाचारदाता
कास्की, वैशाख ३१ गते । पर्यटकीय नगरी पोखराको लामाचौरमा रहेको अकला मन्दिरमा पूजा गरी चलचित्र ‘शिवांश’ को छायाङ्कन सुरु गरिएको छ । चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरामै गरिने निर्देशक सन्तोषकुमार आत्रेयले बताउनुभयो । “करिब एक महिनामा छायाङ्कन सक्ने लक्ष्य लिइएको छ । पोखराका रमणीय दृश्यलाई कैद गरिने छ,” उहाँले भन्नुभयो । आत्रेयको ‘डेब्यु’ निर्देशकीय रहेको यो चलचित्र ‘मिथोलिकल ड्रामा’ मा आधारित रहेको जनाइएको छ ।
चलचित्रमा प्रवीण खतिवडा, विकास जोशी, रुषा न्यौपाने, विमला लिम्बू, उदकुमार सुब्बालगायतको अभिनय छ । अन्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रमा कार्यकारी निर्माता शम्भु थापा, सहायक निर्माता शोभा भण्डारी र अनिश केसी बोगटी हुनुहुन्छ । चलचित्र असोज २४ देखि प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहने चलचित्रमा न्ह्यु वज्राचार्य र राजनराज शिवाकोटीको सङ्गीत रहने छ ।