ललितपुर, वैशाख ३१ गते । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६ औँ जन्मजयन्तीका अवसरमा उहाँको सालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका कार्यालयपरिसरको अग्रभागस्थित झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले मङ्गलबार अनावरण गर्नुभएको हो । सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उहाँको सम्मानमा जीवित छँदै उहाँको इच्छा अनुसार धेरै काम सम्पन्न गरेको जानकारी दिनुभयो ।
“ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार भन्ने नाराका साथ हामीले सेवा प्रवाह गरिरहेका छौँ । उहाँले महानगरपालिकाको नागरिक भएर सेवा पु¥याउनुभएकामा गर्व गर्छौं । भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उहाँले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौँ,” उहाँले भन्नुभयो ।
महानगरप्रमुख महर्जनले जोशीको इच्छा अनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र मङ्गलबारदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराउनुभयो । “जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो । एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिव्रmमा गराएका थियौँ । आगामी दिनमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यव्रmम गर्छौं । यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।
महानगरप्रमुख महर्जनले जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताउनुभयो । विसं १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पु¥याउनुभएको योगदानको सम्मानमा जोशी जीवित छँदै सरकारले उहाँको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियोे ।
यसै गरी लोक साहित्य परिषद्को प्रकाशनमा ‘मुक्कं नेवाः खँग्वः धुकू’ (शब्दकोष) र अष्ट गणेश अनुसन्धान केन्द्रको प्रकाशनमा पाँच कृति ‘नेति नेति’, ‘स्वां’, ‘पुलाँगु खँ सफू’, ‘किपूया न्ह्य्गां’ र ‘धर्मलक्ष्मी संवाद’ बागमती प्रदेशकी मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, मेयर चिरिबाबु महर्जनलगायतले संयुक्त रुपमा विमोचन गर्नुभयो ।