• ३१ वैशाख २०८१, सोमबार

दिवा खाजा प्रभावकारी

blog

असीग्राम आधारभूत विद्यालय अमरगढी–११, लिटिरीगाउँका विद्यार्थी दिवा खाजा खाँदै । तस्बिर : हिक्मत सिंह

डडेल्धुरा समाचारदाता

डडेल्धुरा, जेठ २७ गते । सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ । 

विद्यार्थी नियमित विद्यालय उपस्थित हुने गरेका छन् ।अमरगढी नगरपालिका–५, खलङ्गास्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक तथा दिवा खाजा कार्यक्रम संयोजक रमेश ऐरले खाजा कार्यक्रमपछि विद्यार्थीको आकर्षण बढेको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको बताउनुभयो ।

शिक्षक ऐरका अनुसार विद्यार्थीलाई चना, अन्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउने गरिएको छ । सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थी बढेको शिक्षक ऐरले बताउनुभयो । नुवाकोट माध्यमिक विद्यालय घटालका शिक्षक मोहन भण्डारीले दिवा खाजाले विद्यार्थी सङ्ख्या बढाउन मद्दत गरेको बताउनुभयो । 

सरकारले बालविकासदेखि पाँच कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेको छ । विद्यार्थीले विद्यालयमा नै खाजा खाने सुविधा पाएपछि बजारमा पाइने चटपटे, चाउचाउ, कुरमुरे, बिस्कुटजस्ता जङ्कफुड खान रोकिएको महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताउनुभयो । दिवा खाजा कार्यक्रमले खाजामा एकरूपता ल्याएको र अभिभावकलाई पनि सहज भएको अभिभावक खेम पाठकले बताउनुभयो ।