• ४ जेठ २०८१, शुक्रबार

जिसस लमजुङको प्रमुखमा एमालेको गुरुङ

blog

बेलिना थापा

लमजुङ, जेठ २६ गते । जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट १० मतकासाथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याउनुभयो ।

मतदाता १६ जना रहेकोमा १६ मत नै खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालकाअनुसार उपप्रमुख र सदस्य पदमा एमालेका उम्मेदवार निर्विरोध भइसक्नुभएको छ । 

उपप्रमुख पदमा बेँसीसहर नगरपालिका ७ का बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित हुनुभयो । महिला सदस्यमा मस्र्याङ्दी गाउँपालिका ३ का बबिता मजाकोटी सार्की, मध्यनेपाल नगरपालिका ३ की शारदा साँखी, सुन्दरबजार नगरपालिका २ की विमला खड्का निर्वाचित हुनुभयो । 

खुला सदस्यमा मध्यनेपाल नगरपालिका ८ का मोहनबहादुर गुरुङ, दोर्दी गाउँपालिका ६ का शेरबहादुर बोगटी र बेँसीशहर नगरपालिका ६ का केशरबहादुर खत्री, अल्पसंख्यक सदस्यमा सुन्दरबजार नगरपालिका ११ का गमबहादुर दुरा निर्वाचित हुनुभयो ।  

जिल्ला समन्वय समितिमा एक जना प्रमुख, एक जना उपप्रमुख, ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक गरी बढीमा ८ जना सदस्य चुनिने व्यवस्था छ । प्रमुख पदमा निर्वाचन भएपनि अन्य पदहरुमा निर्विरोध चयन भएको हो । 

जिल्ला समन्वय समितिको प्रतिनिधि चुन्ने निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता थिए । लमजुङको ८ पालिकाका १६ जना मतदातामध्ये ९ जना एमालेबाट निर्वाचित भएका छन् । एमालेको पक्षमा १० मत आएको छ । नेपाली कांग्रेसको ५ जना र नेकपा माओवादी केन्द्रको २ जना मतदाता हुनुहुन्थ्यो ।