• ७ वैशाख २०८१, शुक्रबार

फ्रिडमको मिश्रित प्रदर्शन

blog

म्यान अफ दी म्याच विजेतालाई पुरस्कार प्रदान गर्दै नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ २५ गते । फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले हरायो । 

दुई गोल गर्नुभएका विकर्ण श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । फ्रिडमको ‘बी’ टिमलाई भने जगंवीर युनाइटेडले १–० गोलले हरायो । फ्रिडम ‘बी’ का कप्तान विकास कार्की ‘म्यान अफ दी म्याच’ चुनिनुभयो । 

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोट दरबार र बौद्ध भेट्रान ‘बी’ ले पनि सफलता पाए ।नुवाकोटले एएफसीमाथि ८–२ को सहज जित निकाल्यो ।  नुवाकोटका मनु गौतम ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

अर्को खेलमा बौद्धले आयोजक चावहिल ‘ए’ लाई ३–० गोलले हरायो । बौद्धका गोलरक्षक राजेन्द्र गौतम ‘म्यान अफ दी म्याच’ चुनिनुभयो । प्रतियोगिताको नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले उद्घाटन गर्नुभयो । 

प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका मोफसलका दुई सहित १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । नकआउट प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ ।