• २७ वैशाख २०८२, शनिबार

खोटाङमा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेलाई

blog

पुरस्कार लिँदै हाफ म्याराथनका विजेता खेलाडी।

राजकुमार भट्टराई

खोटाङ, वैशाख २७ गते। खोटाङमा सम्पन्न हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठ र महिलातर्फ पनि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितेका छन्। शनिबार जिल्ला सदरमुकाम दिक्तेलमा सम्पन्न २१ किलोमिटर हाफ म्याराथनको उपाधि आर्मीका श्रेष्ठ र न्यौपानेले जितेका हुन्। उपाधिसँगै दुवै जनाले समान ७७ हजार सात सय ७७ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्। श्रेष्ठले एक घण्टा ८ मिनेट १४ सेकेन्ड र न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेन्डमा दुरी पूरा गरेका थिए। 

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा दिक्तेल बजारमा वैशाख २७ गतेबाट सुरु भएको ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत पहिलो दिन हाफ म्याराथनसहित विभिन्न उमेर समूहको दौड प्रतियोगिता भएका हुन्। विदेशका एक जना, जिल्ला बाहिरका करिब दुई सय जना र खोटाङका गरी जम्मा ९७० जना दौडिएका थिए।

हाफ म्याराथनको पुरुषतर्फको दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौँ र सातौँ क्रमश नेपाल आर्मीका नरेन्द्रसिं रावत, सुशीलकुमार साही, नेपाल प्रहरीका अजितकुमार यादव, तेह्रथुमका सरोज लिम्बू, नेपाल आर्मीका रामजी बस्नेत र कर्णबहादुर रोका मगर भएका छन्। यस्तै महिलातर्फ दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौँ र सातौँ क्रमशः नेपाल आर्मीका निर्मला केसीर निशा सार्की, पाँचथरका पुष्पा शेर्पा, खोटाङका दिपा बस्नेत, भोजपुरका सुस्मा राई र नेपाल आर्मीका अमिशा राई भएका छन्। 

पुरुष तथा महिला दुवै तर्फका दोस्रोदेखि सातौँसम्म हुने खेलाडीले क्रमश ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।

यस्तै, १० किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश आर्मीका गजेन्द्र राई, सिन्धुपाल्चोकका मिङमार सिङ्गी तामाङ र जुम्लाका प्रकाश कठायत भएका छन्। महिलातर्फ आर्मीका सुजना पाण्डे, प्रहरीका सुमित्राकुमारी चौधरी र आर्मीका सिर्जना राई पहिलो, दोस्रो र तेस्रो भएका छन्। उनीहरूले क्रमश १५ हजार, १० हजार, सात हजार नगदको साथमा ट्रर्फी, मेडल र प्रमाणपत्र पाएको आयोजक संस्था नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो।

यस्तै, दस वर्ष मुनिको एक माइल दौड प्रतियोगिताको छात्रतर्फ एन्जल राई, विधान जोशी र जीवान्स राई, छात्रातर्फ निश्मा राई, स्रष्टा राई र योगिना राई पहिलो, दोस्रो र तेस्रो भएका छन्। १२ वर्षमुनिका दुई किलोमिटर छात्रतर्फ सफल राई, निसान केसी र लिलाम राई, छात्रातर्फ करिना राई, सरु राई र मन्दिरा श्रेष्ठ पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ। १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राको सात किलोमिटरमा छात्रतर्फ सम्राट राई, कृष्ण राई र अनिश कार्की, छात्रातर्फ जुही राई, पूजा मनहरा र विनिता राई पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ। ६० वर्षमाथि पुरुषको ५ किलोमिटर दौड प्रतियोगितामा बुद्धवीर लामा प्रथम, पुष्पलाल श्रेष्ठ दोस्रो र निलबहादुर विश्वकर्मा तेस्रो हुनुभएको छ। आमाका लागि आयोजना गरिएको पाँच किलोमिटरमा सुस्मा तामाङ पहिलो, सरिता राई दोस्रो र मुगासरा राई तेस्रो भएका छन्। ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको सात किलोमिटर दौड प्रतियोगितामा धर्म महर्जन महिलो, भूमिराज राई दोस्रो र शिवप्रसाद राई तेस्रो भएका छन्। 

दस वर्षमूनिका छात्रछात्रा एक माइल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले चार हजार, तीन हजार र एक हजार ५००, ६० वर्षमाथिका पुरुषको पाँच किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार ५००, तीन हजार ५०० र दुई हजार ५००, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार ५००, छ हजार ५०० र पाँच हजार ५०० को साथमा ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, दस हजार र सात हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष राईले बताउनुभयो। 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लगायतका ब्यक्तिहरुले पुरस्कार प्रदान गरेका छन्। जेठ ४ गतेसम्म दिक्तेलमा सञ्चालन हुने महोत्सवमा वैशाख ३० र ३१ खुला जुनियर एवं सिनियर पुरुष÷महिला राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने छ। खुला राष्ट्रिय बुद्धिचाल र जिल्लाभित्रको बुद्धिचाल प्रतियोगिता पनि वैशाख ३० र ३१ गते नै दिक्तेलमा सञ्चालन हुने छन्। 

महोत्सवको अन्तिम दिन जेठ ४ गते दिक्तेलमा राष्ट्रिय खुला साहित्य महोत्सव हुने छ।