विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २७ गते । यही वैशाख १४ गते राति कारागार कार्यालय सप्तरी राजविराजबाट एक जना कैदी फरार भयो । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर जेल चलान भएका सप्तरीको शम्भुनाथ नगरपालिका– ११ घर भएका ३५ वर्षीय कैदी रामानन्द मण्डल कारागारबाट फरार भएका थिए । कारागार प्रशासन कैदी मण्डलको अवस्थाबारे अहिले पनि अज्ञात नै छ ।
सो दिन राति हवाहुरी र चट्याङसँगै आएको वर्षाका कारण विद्युत् अवरुद्ध भएको थियो । त्यही मौका छोपेर कैदी मण्डल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृकाप्रसाद दाहाल बताउनुहुन्छ ।
काठमाडौँ जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौटी अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मण्डललाई केन्द्रीय कारागार काठमाडौँले २०८१ पुस ६ गते राजविराज कारागारमा पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले फरार कैदीको खोजी कार्य भइरहेको बताउनुभयो । कारागार प्रशासनको भनाइ पनि प्रहरी उपरीक्षक खतिवडा भन्दा फरक छैन । तर, फरार कैदी अहिलेसम्म पक्राउ गर्न सकेको छैनन् ।
यसरी कारागारबाट कैदी फरार हुनु र अहिलेसम्म पनि पक्राउ नपर्नुले कारागारको सुरक्षा व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
समस्याको चपेटामा कारागार
राजविराज कारागार कारागार मुलुकै पुरानो कारागारमध्ये एक हो । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ । त्यो अतिक्रमण हटाउने प्रयास कहि कतैबाट भइरहेको छैन ।
केही वर्षअघि सप्तरीमा भूपेन्द्र थापा प्रमुख जिल्ला अधिकारी हुँदा उहाँले कारागारको अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना निकाल्नु भएको थियो, तर थापाको सरुवा भएपछि त्यतातिर स्थानिय प्रशासनले कुनै पहल भएको देखिँदैन ।
कारागारको भवन जीर्ण छ । एक सय ५५ जनासम्म कैदी राख्ने क्षमता भएको कारागारमा अहिले पाँच महिलासहित तीन सय ९८ जना कैदीबन्दी राखिएको जेलर मातृकाप्रसाद दाहालले बताउनुभयो ।
अहिलेको आधुनिक युगमा पनि कारागार जस्तो संवेदनशील स्थानमा सिसिटिभी क्यामेरा, जेनेटर जस्ता उपकरण छैन । त्यसले सुरक्षामा अझै चुनौती थपिएको छ ।
जेनेटर समेत नहुँदा बत्ती गएको बेला टर्च र इमरजेन्सी लाइटको भरमा निगरानी गर्नुपर्ने पर्ने बाध्यता रहेको जेलर दाहालले सुनाउनुभयो ।
उहाँले कैदी ओसार पसारका लागि प्रयोग गरिने कारागारको एक गाडी बिग्रेर महिनौदेखि लहानस्थित एक ग्यारेजमा थन्किएको तर बजेटको अभावमा ल्याउन नसकिएको गुनासो पोख्नुभयो ।
“बजेटको आभावमा मर्मत भएर राखिएको गाडी ल्याउन सकिएको छैन, कुनै कैदी बिरामी पर्दा सिटी रिक्सामा अस्पताल पुर्याउनुपर्ने बाध्यता छ” जेलर दाहालले भन्नुभयो ।
कारागारमा १२ जना कर्मचरीको दरबन्दी रहेकोमा आठ जना मात्रै रहेको बताउँदै उहाँले जेलको समस्याबारे केन्द्रीय कारागारलाई पनि जानकारी गराई सकिएको बताउनुभयो ।
कारागार सुरक्षाका लागि कारागारको पर्खालको चारैतीर काँडेतार यसै आर्थिक वर्षमा लगाइने र सिसिटिभी क्यामेरा जडानका लागि मधेश प्रदेश सरकारमा पहल गरिएको उहाँले जानकारी दिनुभयो ।