• २५ वैशाख २०८२, बिहिबार

प्रजातन्त्र सेनानी पूर्वमन्त्री गुरुङको सम्झाना

blog

स्वर्गीय पूर्वमन्त्री सूर्यमान गुरुङको स्मृतिसभाका अतिथि । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २५ गते ।
प्रजातन्त्र सेनानी पूर्वमन्त्री सूर्यमान गुरुङको सम्झाना गरिएको छ । लोकतान्त्रिक आन्दोलनका एक अगुवाका रुपमा परिचित व्यक्तित्व नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका गुरुङको बिहीबार प्रथम स्मृतिसभा आयोजना गरी सम्झाना गरिएको हो ।

गुरुङको आफ्नै घर सदरमुकाम फुङ्लिङस्थित फूलपाते डाँडामा स्मृतिसभा कार्यक्रम आयोजना गरी उहाँको सम्झाना गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरप्रमुख अमिर मादेन, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर), प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतको उपस्थितिमा स्वर्गीय गुरुङको सम्झाना गरिएको हो ।

नेपाली काँग्रेस ताप्लेजुङले आयोजना गरेको स्मृतिसभामा नेपाली काँग्रेसका सभापति गजेन्द्र तुम्याहाङ, एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) लगायतका नेतृत्व तथा अन्य स्थानीयवासी सहभागी बन्नुभएको थियो । स्मृतिसभामा गुरुङले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै चर्चा गरिएको थियो ।

स्वर्गीय नेता गुरुङले २०१५ सालको आम निर्वाचनमा काँग्रेसको प्रचारप्रसार विभागको जिम्मेवारी सम्हाल्नुभएको थियो । यस्तै २०१८ सालमा काँग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा ताप्लेजुङ र पाँचथरबाट गुरुङले नेतृत्व सम्हाल्नुभएको थियो । सोही सशस्त्र आन्दोलनका क्रममा गुरुङकै नेतृत्वमा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङ्लिङमा रहेको प्रहरी ठाना कब्जा गरिएको थियो । प्रहरी ठाना कब्जा गरेलगत्तै भूमिगत हुनुभएका गुरुङ भारत निर्वासनमा बस्नुभएको थियो ।

करिव १८ वर्ष भारत निर्वासनमा बसेर २०३६ सालमा आममाफी पाएपछि गुरुङ नेपाल फर्किनुभएको थियो । नेपाल फर्किएपछि २०३६ सालमा भएको कांग्रेस भेलाबाट फुटेर गएको पञ्चायत पक्षमा उहाँ उभिनुभयो र सोही समूहबाट पञ्चायत राजनीतिमा सक्रिय हुनुभयो । पञ्चायत राजनीतिमा सक्रिय भएसँगै गुरुङ २०३९ सालदेखि २०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायत सभापति हुनुभयो ।

२०४६ सालमा प्रजातन्त्र आएपछि गुरुङले काँग्रेसमै बसेर राजनीतिलाई निरन्तरता दिनुभयो । बहुदलीय प्रजातन्त्रपछि भएको केही निर्वाचनमा उहाँ चुनाव लड्नुभयो । माओवादी जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य भई २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ताप्लेजुङ, निर्वाचन क्षेत्र नम्बर १ बाट गुरुङ निर्वाचित हुनुभयो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने समानुपातिक कोटाबााट उहाँ संविधानसभा सदस्य हुनुभयो ।

दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक संविधानसभा सदस्य हुनुभएका गुरुङ २०७३ सालमा श्रम तथा रोजगार मन्त्री तथा सोही समयमा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको थियो । लामो समयसम्म नेपाली काँग्रेस ताप्लेजुङको सभापति बन्नुभएका गुरुङ एक कार्यकाल नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत हुनुभएको थियो । विक्रम सम्वत् १९९८ साल बैशाख १० गते जन्मिनुभएका गुरुङको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।