• १५ चैत २०८०, बिहिबार

पाथीभरामा पोर्टेबल शौचालय निर्माण

blog

पाथीभरा मन्दिर परिसरमा निर्माण गरिएको पोर्टेबल शौचालय । तस्बिर सौजन्य : मनमणि काफ्ले

ताप्लेजुङ, जेठ २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पोर्टेबल शौचालय निर्माण गरिएको छ । पाथीभरा दर्शनमा आउने दर्शनार्थीका लागि मन्दिर परिसरमा पोर्टेबल शौचालय निर्माण गरिएको हो ।

तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा धाममा पुग्ने दर्शनार्थीले शौचालयको समस्या खेप्दै आएको अवस्थालाई दृष्टिगत गरी पोर्टेबल शौचालय स्थापना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । पोर्टेबल प्रविधिको शौचालय आवश्यकताअनुसार ठाउँ परिवर्तन गर्दै प्रयोग गर्न सकिने काफ्लेको भनाइ छ ।

मन्दिर परिसर नजिक तीनवटा र माथिल्लो फेदी बजारदेखि मन्दिरसम्म अढाई किलोमिटर दूरीभित्र पाँचवटा शौचालय जडान भएको समितिले जनाएको छ । फाइबरबाट निर्माण भएको पोर्टेबल प्रविधिको शौचालय एनएमबी बैङ्कले उपलब्ध गराएको पनि समितिका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।

यता शौचालय जडान खर्च काठमाडौं बानेश्वरकी  समाजसेवी रञ्जना पाठकले ब्यहोर्नुभएको बताइएको छ । एउटाको शौचालयको लागत रकम करिव ७५ हजार रुपियाँ पर्दछ । शौचालयमा प्रयोग गर्ने पनि भने मन्दिर परिसरमा निर्माण भएका धर्मशालाहरूको छानाबाट सङ्कलन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।