• २५ वैशाख २०८२, बिहिबार

फूलजोर पुल बन्द

blog

फूलजोर पुलमा आउजाउ बन्द रहेको भनी टाँगिएको ब्यानर । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २६ गते  । सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोरखोलाको पुलबाट आउजाउ बन्द गरिएको छ । पुललाई जोड्ने पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पुलबाट तत्काललाई आउजाउ गर्न र सवारीसाधन सञ्चालन गर्न निषेध गरेको हो । रामपुरतर्फ पुल र सडक जोडिएको भागमा गिट्टी, बालुवा बगेर ठुलो भ्वाङ पर्दा अत्यन्त जोखिमपूर्ण अवस्था रहेको छ । 

फूलजोर पुल ‘ज्यानमारा’ बनेको विषयमा गोरखापत्रसहित विभिन्न सञ्चार माध्यमबाट बारम्बार समाचार प्रकाशित तथा प्रसारित भएपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यानाकर्षण भएको छ । पुलबाट चारपाङ्ग्रे सवारीसाधन वारपार हुनै नसक्ने अवस्था आउँदा पनि खतराको सामान्य सङ्केतसमेत नराख्ने र मर्मतमा बेवास्ता भइरहेको थियो । 

मङ्गलबारदेखि पुलबाट आवतजावत बन्द रहेको बोर्ड राखेर भ्वाङ पुर्न भनी ढुङ्गा थुपारिएको छ । लालबन्दी नगरपालिका–३ का वडाध्यक्ष बुद्धदेव चौधरीले पुलको अवस्था असाध्य दयनीय बनेको र मर्मत नहुँदा बारम्बार सवारी दुर्घटना हुन थालेपछि तत्काल मर्मत गरिदिन सडक डिभिजन कार्यालयलाई आग्रह गरिरहेको जानकारी दिनुुभयो । 

पुलबाट आउजाउ बन्द गरेर तल खोलामा डाइभर्सन बनाई त्यहीँबाट सवारीसाधन सञ्चालन गर्न थालिएको छ । वर्षायाममा जुनसुकै बेला डाइभर्सन बगाउने जोखिम रहेको भन्दै यात्रु तथा सवारीचालकले तत्काल पुलको मर्मत गर्नुपर्ने माग गरेका छन् । 

पप्पु शिवशङ्कर जेभीले निर्माण गरेको पुलको एप्रोच रोड कालोपत्रे गर्न पुरानै ठेक्का रहे पनि ठेकेदार सम्पर्कविहीन रहँदा समस्या परेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले बताउँदै आएको छ । पुलको रामपुरतर्फ पुलमाथि चढ्ने पहुँच सडकमा निकै तलको भागबाट गिट्टी, बालुवा भरेर काम गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । 

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अनिलकुमारलाल कर्णले पुलको एप्रोच रोड तत्काल बनाउन निर्माण व्यवसायीलाई निरन्तर दबाब दिइरहेको बताउनुुभयो । फूलजोर पुल निर्माण भएको दुुई वर्ष बितिसक्दा पनि हस्तान्तरण भएको छैन । 

निर्माण व्यवसायीले हस्तान्तरण गर्न बाँकी नै रहेको र पहुँच रोडमा बारम्बार भ्वाङ पर्दा मर्मतमा समस्या परिरहेको डिभिजन सडक कार्यालयका प्रमुख कर्णको गुनासो रहेको छ ।