• २४ वैशाख २०८२, बुधबार

प्रसारण लाइन विवाद समाधान गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाँभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री खड्काले मङ्गलबार आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो । 

बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाँभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन विद्युत् टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणका क्रममा भइरहेको ढिलाइबारेमा मन्त्री खड्काले चासो राख्नुभएको हो । 

“स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनूहोस्,” मन्त्री खड्काले भन्नुभयो । उहाँले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्बासको सुनिश्चित गर्नसमेत निर्देशन दिनुभयो ।

भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराउनुभयो । उक्त क्षेत्रमा तीन वटा विद्युत् टावर बन्न बाँकी रहेको उहाँको भनाइ थियो । २०७७ भदौमा सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भए पनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाइ भएको थियो । 

तल्लो मोदी–नयाँ मोदीमा निर्माण सुरु

राससका अनुसार ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदी खोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । 

कुस्मा नगरपालिका–७, खरेहादेखि मोदी गाउँपालिका–२, देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको कुस्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा रु. एक करोड बराबरको जग्गा अधिग्रहण भइसकेको अयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । 

आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुने छ । तल्लो मोदीदेखि नयाँ मोदी सबस्टेसनसम्मको प्रसारण लाइन करिब सात/आठ महिनाअघि निर्माण भइसक्नुपर्ने थियो, जग्गा अधिग्रहणकै कारण ढिला भएको उहाँले बताउनुभयो । सम्झौता मिति अझै बाँकी भए पनि यो काम पूरा गर्न डेढ वर्ष लाग्न सक्ने अग्रवालको भनाइ छ । 

कुस्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि रिङ लाइन निर्माण हुने भएको छ । अहिले कुस्माबाट बुटवल हुँदै भरतपुर, दमौली, लेखनाथ, लाहाचोक हुँदै न्यु मोदीमा आएकामा अब यो न्यु मोदी र कुस्मा जोडियो भने प्रसारण लाइनको सर्कल बन्ने आयोजना प्रमुख अग्रवालले बताउनुभयो । उहाँका अनुसार यो सर्कल बनेपछि कुनै एक ठाउँमा सिस्टम फेल भए पनि विद्युत्को आपूर्ति दुरुस्तै रहन्छ ।

यो प्रसारण लाइन १३२ केभी डबल सर्किट रहेको अग्रवालले जानकारी दिनुभयो । आयोजनाको काम सम्पन्न गर्न ३५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको भए पनि जग्गा व्यवस्थापनसहितका अन्य काम गर्दा करिब रु. ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

१३२ केभी प्रसारण लाइन आयोजनाको टावर फाउन्डेसन निर्माणका लागि विभिन्न २६ वटा कित्ता जग्गा अधिग्रहण गरी रु. एक करोड पाँच लाख मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण भएकाले रकम बुझ्न आउन जिल्ला प्रशासन कार्यालयले जग्गाधनीलाई सूचना जारी गरेको छ । 

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका–५ बाजुङ तथा कुस्मा नगरपालिका–३, दुर्लुङ, कुस्मा नगरपालिका–७, खरेहा तथा वडा नं ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो । मुआब्जा प्राप्त गर्नेलाई मुआब्जा बुझ्न आह्वान गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । 

पर्वतको मोदीखोलाबाट हाल चार वटा विद्युत् आयोजनामार्फत करिब ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने केही आयोजना निर्माण हुने चरणमा छन् ।