गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते । युवा बहुल अवस्थाबाट नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनमध्ये नेपालमा बुढ्यौलीको अवस्थासम्बन्धी प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या तीव्र रूपले बुढ्यौलीतर्फ प्रवेश गरेको देखाएको हो ।
प्रतिवेदन अनुसार अबको ३० वर्षपछि अर्थात् विसं २१११ सम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ ।
जन्मदर र मृत्युदर घटिरहेको अवस्थामा नेपालको जनसङ्ख्या पनि सङ्क्रमणकालतर्फ तीव्र रूपले प्रवेश गरिरहेको कार्यालयको अध्ययनले देखाएको छ । यसका लागि कार्यालयले केही तुलनात्मक तथ्याङ्क पनि प्रस्तुत गरेको छ । जस अनुसार ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या २०६८ सालको ८.१ प्रतिशतबाट २०७८ सालमा १०.२ प्रतिशतमा बढेको छ । वृद्ध व्यक्तिको जनसङ्ख्या २०४८ सालदेखि लगभग तीन गुणा बढेको पनि प्रतिवेदनले देखाएको छ । कार्यालयले ६० वर्षभन्दा माथिको उमेर समूहलाई बुढ्यौली अवस्थाका रूपमा गणना गरेको छ ।
बुढ्यौलीको देश बन्नुका पछाडि जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको पनि प्रतिवेदनले देखाएको छ । बालबालिका र काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै जाँदा आश्रित जनसङ्ख्याको अनुपात पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
भौगोलिक रूपमा पहाडी क्षेत्रमा तीव्र रूपमा वृद्धको सङ्ख्या बढेको पाइएको छ । पहाडमा २०६८ सालमा बुढ्यौली जनसङ्ख्या २५.७ प्रतिशत रहेकोमा २०७८ सालमा ४३.६ प्रतिशत पुगेको छ । प्रदेशगत हिसाबमा बागमती प्रदेशमा बुढ्यौली जनसङ्ख्या सबैभन्दा धेरै रहेको छ ।
सहरी क्षेत्रमा युवाको आकर्षण बढी हुने भएको ग्रामीण र सहरी क्षेत्र दुवैमा विगत दुई दशकमा १३ प्रतिशतले बुढ्यौलीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
राष्ट्रियस्तरमा महिला र पुरुष दुवैतर्फ ६० वर्षसम्म बाँच्न सक्नेको हिस्सा ८० प्रतिशत रहेको छ । यसमा पनि महिलाको बाँच्न सक्ने दर ८४.७ प्रतिशत र पुरुषको ७५.१ प्रतिशत रहेको देखाउँछ । यसले पुरुषभन्दा बढी महिलाको उमेर समूह बढी भएको सङ्केत गर्छ । हिमाली प्रदेशमा बाँच्न सक्ने दर सबैभन्दा धेरै पाइएको छ ।
प्रतिवेदनले विगतमा वृद्ध परिवारका सदस्यसँग बस्ने भए पनि पछिल्लो समय एक्लै वा श्रीमान् श्रीमती मात्र बस्ने वृद्ध व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ ।
एकाउन्न प्रतिशत वृद्ध आर्थिक रूपमा सक्रिय
बुढ्यौलीको उमेर बढ्दै गए पनि ५१ प्रतिशत वृद्ध आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । त्यसमध्ये अधिकांश अर्थात् ७२.६ प्रतिशत कृषि क्षेत्रमा संलग्न रहेको पाइएको छ । सबैभन्दा बढी कर्णाली प्रदेशका वृद्ध कृषि क्षेत्रमा संलग्न रहेको पाइएको छ ।
आर्थिक विकासका लागि सक्रिय रूपमा काम गर्न सक्ने युवा जनसङ्ख्या आवश्यक पर्ने भए पनि नेपालले बहुल युवा सङ्ख्याको उपयोगमा चुक्दै गएको देखिएको छ । बुढ्यौलीको अवस्थामा समाज प्रवेश गर्दैगर्दा आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरण पोषणमा चुनौती सिर्जना गर्ने प्रतिवेदनले देखाएको छ ।