• २३ वैशाख २०८२, मङ्गलबार

आरसिटी रेडिगेसनको त्रासबाट अगाडि

blog

बल खोस्ने प्रयास गर्दै च्यासल र आरसीटीका खेलाडी ।

काठमाडौँ, वैशाख २३ गते । पुरानो क्लब रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन त्रासबाट अगाडि बढेको छ ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा आरसिटीले च्यासल युवा क्लबलाई ३–२ गोलले हरायो । आरसिटीको जितमा अजित गुरुङ, अभिषेक भोलान र सञ्जय लिम्बूले गोल गर्नुभयो । च्यासलका लागि कप्तान अश्विन घोरासैनी र आशिष थारूले गोल फर्काउनुभयो । 

जितसँगै १० खेल सकेको आरसिटी ११ अङ्कका साथ नवौँ स्थानमा उक्लिएको छ । पराजित च्यासल १४ अङ्कसहित छैटौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ ।

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।