• २३ वैशाख २०८२, मङ्गलबार

बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन जेठ ५ देखि

blog

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी गराउनुहुँदै । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, वैशाख २३ गते ।
बागमती प्रदेशको प्रदेशसभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गते सोमबार आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेबाट सुरु गर्नेगरी आह्वान गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकपछि बैठकको निर्णय जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘बजेट अधिवेशनका रूपमा प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गते बिहान ११ बजेबाट बस्ने गरी आह्वान  गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ ।’’

मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । मन्त्री परिषद बैठकको सिफारिश अनुसार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुहुने छ ।

यस्तै, तीन जना सचिव सरुवा भएर गएको र तीन जना नयाँ सचिव प्रदेशमा सरुवा भई आउनुभएकोमा उहाँहरूलाई विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने प्रस्ताव अनुसार दरबन्दी थप नहुने गरी दरबन्दी मिलान गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता लामिछानेले बताउनुभयो ।