काठमाडौँ, वैशाख २२ गते। चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरु गर्नुभएको हो।
जिम्मेवारी सम्हाल्नासाथ सङ्घीय राजधानी केन्द्रित विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गर्नुभएका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अङ्ग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गर्नुभएको हो।
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गर्नुभयो।
अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गर्नुभयो। अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ। मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए। सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा सुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड सुरुवात गरिएको हो।
अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ। यसअघि गम्भीर जलनका बिरामीले काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो। अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ।