काठमाडौँ, वैशाख २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा मानव अधिकारको उल्लङ्घन भएको पुष्टि भइसकेको भन्दै न्यायिक छानबिन समिति गठनको माग गर्नुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद शाहीले ४० दिनदेखि रविन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख गर्नुहुँदै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाउनुभयो । उहाँले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जनको गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाउनुभयो ।
‘‘सरकारले राज्य आतङ्क अत्याधिक ज्यादा गरेको छ । ४० दिनदेखि रविन्द्र मिश्र लगायतका साथीहरू आज पनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी सङ्घ सङ्गठनहरूले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरू न्यायिक छानबिन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानबिन समिति बनाउँदैन ? न्यायिक छानबिन समिति आवश्यक छ ।’’
उहाँले थुनामा रहेका राप्रपा नेताहरूलाई तत्काल छोड्न समेत सरकारको ध्यानाकर्षण गर्नुभयो ।