• २२ वैशाख २०८२, सोमबार

मनाङका सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तरण

blog

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २२ गते । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्दार सामग्री हस्तान्तरण गर्नुभएको हो । 

उद्दार सामाग्रीमा डोरी, ज्याकेट, जुत्ता, पञ्जा, हेलमेट, हार्नेसलगायत १६ प्रकारका रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उद्दार तथा सुरक्षाका सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डेले बर्खा लागेसँगै दैवीप्रकोपका घटना बढ्न सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

हिमाली क्षेत्रमा घट्ने घटनामा सुरक्षा निकायलाई सबल बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभयो । “जलवायु परिवर्तनले मनाङजस्ता हिमाली जिल्लामा पछिल्लो समय बाढीपहिरोका घटना बढ्न थालेका छन । धेरै ठुला लेक तथा पहाड भएको ठाउँमा घटना हुँदा हाम्रो क्षमता र दक्षताको प्रदर्शन गर्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकारका तर्फबाट उद्दारलाई चुस्त बनाउन प्रदेश सरकार लागि पर्ने छ । त्यससँगै सङ्घीय गृहमन्त्री र सरकारसँग पनि छलफल गरिरहेको छु ।”

मुख्यमन्त्री पाण्डेले मनाङको शान्ति सुरक्षा र वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको थियो । यहाँका जनप्रतिनिधि, स्थानीयसँग भेटघाटपछि आयोजित जिल्ला सुरक्षा समितिको बैठकमा उहाँले नागरिकप्रती जिम्मेवार भएर सेवा प्रवाह गर्न र विपद्, राहत, उद्दारमा संवेदनशील हुन निर्देशन समेत दिनुभयो ।

मुख्यमन्त्री पाण्डेको उपस्थितिमा बसेको मनाङको सुरक्षा समितिको बैठकले उद्दारमा चनाखो रहने, आवश्यक सामग्री, जनशक्तिको जोहो गर्ने र समयमै उद्दार तथा समस्या समाधानमा लाग्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिनुभयो ।