• २२ वैशाख २०८२, सोमबार

एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव सम्पन्न

blog

काडमाडाैँ, वैशाख २२ गते । चौथो एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव २०२५ सम्पन्न भएको छ । लुम्बिनीमा आयोजना भएको सम्मेलन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । 

महोत्सवमा बौद्ध धर्मका विभिन्न धार्मिक अनुष्ठान र  प्रवचन र विभिन्न कार्यक्रमहरू आयोजना भएको थियो । तीन दिनसम्म चलेको महोत्सवमा विश्वभरका बौद्ध धर्म अनुयायीहरू, विद्वानहरू, युवाहरू  र संस्कृति अनुरागीहरूको सहभागिता थियो । 

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन, अध्यात्म र शान्तिको केन्द्रका रूपमा अझ सुदृढ बनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बताउनुभयो । 

प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पर्यटन मन्त्री, प्रदेशका मुख्य मन्त्री लगायत अतिथिहरूको सहभागिता थियो । यस महोत्सवमा चीन, थाइल्यान्ड, श्रीलङ्का, क्याम्बोडिया, म्यानमार, भुटान, जापान, दक्षिण कोरिया, भारत लगायत ५० भन्दा बढी राष्ट्रका प्रतिनिधि सहभागी थिए।  

महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले सारिपुत्र फ़ाउण्डेशनको आयोजनामा नेपाल सरकार लुम्बिनी विकास कोष, चाइनिज कल्चर प्रोमोशन सोसाइटी, लुम्बिनी विश्वविद्यालय, वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो।  

सारीपुत्र फ़ाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोका अनुसार यो  महोत्सवको आयोजना सन् २०११ मा पहिलो पटक क्याम्बोडियाबाट सुरु भएको थियो र त्यसयता श्रीलङ्का, थाइल्यान्ड हुँदै यस पटक नेपालको लुम्बिनीमा चौथो संस्करण सम्पन्न भएको हो। यस आयोजनाले लुम्बिनीको मात्र नभई रामग्राम, मधुवन र विशेष गरेर तिलौराकोटको  अन्तर्राष्ट्रिय स्तरमा उच्च तहमा प्रचार हुन सहयोग पुगेको बताउनुभयो। यसका साथै स्थानीय पर्यटन र आर्थिक विकासमा समेत टेवा पुगेको र पुर्‍याउने अपेक्षा गरिएको बताउनु भयो।

यसै गरी उक्त  महोत्सवले आध्यात्मिक एवं सांस्कृतिक प्रभाव मात्र नभई ,विश्व समुदायमा नै करुणा, सहिष्णुता र शान्तिको सन्देश दिने एउटा उदाहरणीय प्रयास भएको पनि बताउनुभयो।  

महोत्सवको पहिलो दिनको, साँझमा लिटिल बुद्धको परिसरमा आयोजित “महादीप प्रज्वलन कार्यक्रम” विशेष आकर्षण बनेको थियो । सारिपुत्र फाउन्डेसन र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित यस कार्यक्रममा ६० हजार  बत्ती बालिएको थियो, जसले करुणा, शान्ति र एकताको सन्देश विश्वभर फैलाएको थियो। हजारौँ भिक्षु, भिक्षुणी, अतिथि तथा भक्तजन यस अवसरमा उपस्थित थिए।

हालै म्यानमारमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पका पीडितहरूप्रति श्रद्धाञ्जली र प्रार्थना पनि गरिएको थियो।