• २२ वैशाख २०८२, सोमबार

‘कांग्रेसलाई लोकतान्त्रिक व्यवस्थाको माया छ’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता विमलेन्द्र निधि । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २२ गते  । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई  भएको बताउनुुभएको छ । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आइतबार सहिद सखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अन्य राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको दाबी गर्नुभएको हो । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधिले यो प्रणालीलाई जोगाइरहन सके सहिदप्रति उच्च सम्मान हुने बताउनुुभयो ।

कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको नेता निधिको भनाइ छ । संयुक्त सरकार रहेको बेला सबैकुरा कांग्रेसले भनेको मात्रै नहुने भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ सालको निर्वाचनलाई लक्षित गरी जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुुभयो । 

निधिले अबको १३ महिनापछि नेकपा (एमाले) सँगको सात बुँदे सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा हुँदै जाने बताउनुुभयो । पछिल्ला समय मधेश प्रदेशमा योजनाका चिठीपत्र बिक्री भएको र यसले प्रदेश नै बदनाम भएको भन्दै कांग्रेस नेता निधिले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई त्यस्ता काममा नलागी इमानदारिता देखाउन आग्रह गर्नुभयो । 

कांग्रेस नेता निधिले २०५९ साल वैशाख २१ गते तत्कालीन विद्रोही पक्ष (माओवादी) ले घाँटी रेटेर हत्या गरेका पार्टीका नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधा कदको सालिक अनावरण गर्नुभएको छ । महतोलाई हत्या गरिएकै स्थानमा सालिक निर्माण गरिएको नेपाली कांग्रेस सर्लाहीका सचिव नीरज कार्कीले जानकारी दिनुुभयो ।