सिराज खान
नेपालगन्ज, वैशाख २२ गते । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई रिक्सा चालक कोहलपुर ११ का ३३ वर्षीय भीमबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी लक्ष्मी खनालले आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराउँदै गर्दा उपचारका क्रममा राती मृत्यु भएको बताउनुभयो ।
उहाँले सो दुर्घटना कोहलपुर १ कौशिला नगरका ३२ वर्षीय लक्ष्मण शाहीले चलाएको म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा भएको बताउनुभयो ।
घटनापछि प्रहरीले म्याजिक भ्यानका चालक शाहीलाई नियन्त्रणमा लिएको छ भने घट्नाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाउनुभयो । उहाँले दुवै सवारी साधनको गति र सावधानीको कमीले दुर्घटना हुन पुगेको सिसी टिभीको फुटेजबाट देखिएको बताउनुभयो ।