बाँके समाचारदाता
बाँके, वैशाख २२ गते । नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ । महाधिवेशनको उद्घाटनमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उपमहानगरपालिका–२२ मा रहेको किङ्गरियनपुरवा बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा बस्तीमा समस्या सुनेपछि मुख्यमन्त्री आचार्य गम्भीर र भावुक बन्नुभयो ।
सामान्यतया ज्ञापनपत्र बुझे पनि माग पूरा गराउन पहल गर्छु भन्ने आश्वासन दिने प्रचलन भए पनि यस पटक मुख्यमन्त्री आचार्यलाई भने गाउँमै पुग्न मन लाग्यो । मुख्यमन्त्री आचार्यले ज्ञापनपत्रमा समेटिएका विषय अध्ययन गर्नुभयो, त्यसपछि उहाँलाई बस्तीमै पुगेर स्थलगत अवलोकन गर्नुपर्ने आवश्यकता महसुस भयो । समुदायले भोग्दै आएका समस्या त्यस ज्ञापनपत्रमा समेटिएका थिए ।
त्यसपछि मुख्यमन्त्री आचार्य किङ्गरियनपुरवा बस्ती पुग्नुभयो । नजिकबाट बस्ती नियालेर हेरेपछि उहाँले समस्या समाधानका लागि प्रदेश सरकारले पहल लिने अठोट गर्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “यहाँका अधिकांश व्यक्ति विद्यालय शिक्षाबाट टाढा रहेको पाए । ठुलो र संयुक्त परिवार भए पनि उद्यमशीलता र स्वरोजगार हुन नसकेको अवस्था रहेछ ।”
उहाँले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पुर्याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यहाँका नागरिकको जीवनस्तर उठाउन प्रदेशले विशेष योजना बनाउने विषयमा छलफल अघि बढाउँछु ।”
यस बस्तीमा बसोबास गर्ने नागरिकले मागेर गुजारा चलाउने अवस्था छ । सरकारले उद्यमशीलता विकासमा योजना बनाएका खण्डमा समुदायका व्यक्ति त्यसमा सहभागी हुने चाहना राखेको पाइएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका सुगम र सम्पन्न मानिन्छ तर पनि यसभित्र रहेका केही बस्तीमा अझै विकास पुग्न सकेको छैन । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाबाट नागरिक अझै टाढा रहनु परेको अवस्था छ ।
मुख्यमन्त्रीसँगै रहेकी प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपालगन्जभित्र शिक्षा र स्वास्थ्यलगायत आधारभूत सेवा सुविधाबाट पछि परेका बस्ती र समुदाय धेरै भएको भन्दै मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण गराउनुभयो ।